सुभाष कायस्थ

जनकपुरधाम, १८ भदौ। महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले दलित समुदायको कुल देवता चम्पा देवीमाईको मन्दिर निर्माण गर्न नदिएको आरोप लगाइएको छ। 

पिपरा गाउँपालिका ३ बन्चटोलवाका दलित समुदायले पुस्तौँदेखि पूजा गर्दै आएको चम्पा देवी माईको मन्दिर पोखरी डिलमा निर्माण गर्न खोज्दा गाउँपालिका अध्यक्ष यादवले आफूहरूमाथि जातीय विभेद गर्दै मन्दिर निर्माण गर्न नदिएको आरोप स्थानीय दलित समुदायका व्यक्तिहरुले आरोप लगाएका हुन्।

बुधबार पत्रकार सम्मेलन आयोजना गरी राजेश दास, गणेश दास तत्मा, रामनाथ पासवान र भोला दासलगायतले गाउँपालिका अध्यक्षले आफूहरुले मन्दिरका लागि राखेको जग्गामा हलुवाई जातिका कुल देवता गणिनाथ भगवान गोविन्दको मन्दिर निर्माण गर्न दिएको र दुईवर्ष १०÷१० लाख रुपैयाको दरले बजेट समेत उपलब्ध गराएको बताए। उनीहरुले भने, ‘त्यहाँ पालिकाकै लगानीमा अर्को मन्दिर बनिरहेको छ, तर हामीले निर्माण गर्न खोज्दा पोखरी, पैनी क्षेत्र भएका कारण कानूनी रुपले निर्माण गर्न रोक लगाउँदै छ।’

‘पहिला आफ्नो कुलदेवीको मन्दिर निजी जग्गामा रहेको थियो। पछि जग्गा बाँडफाँड भयो। अहिले हामीले सार्वजनिक जग्गामै मन्दिर निर्माण गर्ने भनी पोखरी डिलमा निर्माण गर्न खोज्दा आफूहरुमाथि जातीय विभेद मात्रै होइन कुटपिट समेत भएको छ।’

पत्रकार सम्मेलनमा सहभागी राजेश दासले ‘पैनी क्षेत्रमा मन्दिर निर्माणको कानून दलितमा मात्रै लागू हुने हो? अन्य जातिलाई पनि? उनले  प्रश्न गर्दै भने, ‘त्यहाँ मन्दिर निर्माणको लागि गाउँपालिकाले मात्रै होइन प्रदेश सरकार समेतले गत वर्ष २५ लाख रुपैयाँ विनियोजन गरेको थियो। हामीले निर्माण गर्नखोज्दा बखेडा झिकिरहेको छ। हामीमाथि अवहेलना भएको छ।’

यस्तै अर्का सहभागी गणेश दास तत्माले यदि दलितको लागि पोखरी, पैनी पुरेर मन्दिर निर्माण गर्न कानून विपरित हो भने त्यहाँ बनाइएको अर्को मन्दिर पनि हटाउनु पर्यो, होइन भने कानून विपरित बजेट निकासा गर्ने निकायका सम्बन्धित कर्मचारी÷जनप्रतिनिधीमाथि कारवाही हुनुपर्नु पर्ने माँग गरे।

उनले भने, ‘हामीमाथि जातीय विभेद गर्दै गरिएको कुटपिटले एक जनाको नाकको हड्डी भाँचिएको छ,  घाइतेको उपचार रिपोर्ट हुँदासमेत प्रहरीले जाहेरी दर्ता गर्न मानेनन्, बरु जाहेरी दिनजानेलाई हप्काएर पठाए।’

दलित समुदायमाथि गाउँपालिका अध्यक्ष मात्रै होइन प्रमुख जिल्ला अधिकारीसमेतले विभेद गरेको उनीहरुको आरोप रहेको छ। ‘गाउँपालिकाले रोक लगाएपछि आफूहरु प्रमुख जिल्ला अधिकारी कहाँ गयौं, तर उहाँले पनि हलुवाईहरुको पक्षमा बोल्दै आफूहरुलाई मन्दिर निर्माण गर्न नदिने भनेपछि बाध्य भएर पत्रकार सम्मेलन गरेका हौं,’ उनीहरुले भने। 

भदौ १६ गतेको छलफलमा आफूहरूलाई मन्दिर अन्यत्र बनाउन र तत्काल मुद्दा दर्ता नगराउन दवाव दिए। मुद्दा दर्ता भए कारबाही गर्ने धम्की दिइएको उनीहरूको भनाई छ। उनीहरुले घटनाको निष्पक्ष छानबिन गरी जातीय विभेद, कुटपिट र धम्कीमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न राष्ट्रिय दलित आयोगसमक्ष माग गरेको छ।

यता गाउँपालिका अध्यक्ष रामजानकी यादवले भने आफूले  कसैमाथि कुनै विभेद नगरेको बताए। जहाँसम्म दलितहरुको कुल देवता चम्पा देवी माईको मन्दिरको कुरा हो। त्यहाँ पहिलादेखि नै हलुवाई जातिको गणिनाथको मन्दिर छ, त्योसैको १० फिट दूरीमा यिनीहरुले मन्दिर निर्माण गर्न खोजेकाले झन विवाद बढने भएकाले रोक लगाएका हौं। 

उनले थप्दै भने, ‘दलितहरुलाई  भूईया महाराजको मन्दिर नजिक निर्माण गर्न जग्गा र बजेट समेत दिइरहेका छौं। तर पनि उनीहरु मानिरहेको छैन। अनाहकको विवाद गर्न खोजिएको हो। सिडिओले शान्ति सुरक्षाको दृष्टिगत गर्दै उनीहरुलाई सम्झाउन खोज्दा मानेनन्।’ 

(न्यूजकारखानाबाट)