• इम्जा हिमताल। तस्बिरहरू : जेसन गली/न्युयोर्क टाइम्स


    जेसन गली

    बुधबारको प्रलयकारी बाढीपछि नेपालबाट डरलाग्दा भिडिओहरू आइरहेका छन्। संसारभरिका मान्छेले झैँ मैले पनि बडो त्रास र दुःखका साथ ती भिडिओ दोहोर्‍याई–तेहेर्‍याई हेरेँ।

    तर, अरु धेरै मान्छेभन्दा फरक मलाई नेपालको भूभागबारे राम्रो जानकारी छ। पहिलो पटक सन् २००५ मा भूगर्वशास्त्रको स्नातक विद्यार्थीका रूपमा म खुम्बु क्षेत्र पुगेको थिएँ। त्यहाँका हिमनदीहरू कसरी खतरनाक हिमतालमा परिणत हुन्छन् भनेर अध्ययन गर्न म गएको थिएँ। पछिल्ला दुई दशकमा म ६ पटक सो क्षेत्रमा पुगेको छु।

बुधबारको विपदको विषयमा अहिलेसम्म थाहा भएको कुरा के हो भने हिमनदीको एउटा विशाल हिस्सा टुक्रिएर ४ हजार फिट तल भोटेकोसीको सहायक नदीमा बजारियो। सुरुमा यसलाई भूकम्प भन्ने ठानियो। किनभने यसका कारण ५.२ म्याग्निच्युडको कम्पन पैदा भएको थियो। केही समयमै बाढी तल झर्न थाल्यो र चट्टान तथा पानीको विशाल लहरले केरुङ बन्दरगाह छोपिदियो।

हिमालयमा आउने धेरैजसो विनाशकारी बाढीका लागि हिमताल जिम्मेवार हुन्छन्। तीव्र गतिमा पग्लिन थाल्नुअघि नेपालका हिमनदीहरूले पहाडलाई तलतिर धकेल्ने गर्थे। जसका कारण ढुंगा, माटो, बालुवाको सयौँ फिट अग्ला थुप्रा बन्थे। हिमनदी विज्ञहरू तिनलाई ‘मोरेन’ भन्छन्।

ङोजुम्पोङोजुम्पो

पृथ्वीको सतह तात्दै गएसँगै हिमालमा पनि तापक्रम तीव्र गतिमा बढेको छ। हिमनदीहरू खिइँदै गएका छन्। र, ती ढुंगा,माटो, बालुवाका थुप्रोहरूले हिमनदी पग्लेर आएको पानीलाई छेक्न थालेका छन्। यो प्रक्रियाले ठुल्ठूला तालहरू बन्न थालेका छन्। ती ताल फैलिँदै गएर हिमनदीलाई विस्थापित गर्न सक्छन्। अथवा, कुनै कारणवश अचानक फुटेर ठूलो विनाश गर्दै बाढी आउन सक्छ।

सन् २०२४ मा खुम्बु क्षेत्रमा पहिरो गएर हिमनदीमा ठोक्किएको थियो। जसका कारण ढुंगामाटोको थुप्रोले छेकिएर बनेको एउटा त्यस्तै तालबाट बाढी चलेको थियो। त्यसबेला नजिकैको थामे गाउँबाट १० करोड ग्यालेन पानी बग्न पुगेको थियो। भाग्यवश, त्यो घटनामा कसैको ज्यान गएन। तर, बाढीले गाउँको स्कुल, हेल्थपोस्ट, कयौँ लज र घर ध्वस्त पार्‍यो।

हिम पहिरो, हिमनदी टुक्रिने घटना, चट्टान र बरफ मिश्रित पहिरोलाई वैज्ञानिकहरूले हिमनदीजन्य दुर्घटना भन्ने गरेका छन्। र, तथ्यांक हेर्दा चीन–नेपाल सीमा क्षेत्रमा सन् १९०० यता यसपालिको जस्तो हिमनदीजन्य दुर्घटना दर्जनौँ पटक भइसकेका छन्। 

बुधबारको बाढी आउँदा ठूलो पहिरो गएको थियो। तर, पहिरोमुनि कुनै ठूलो हिमनदी पग्लेर बनेको ताल देखिएन। त्यसैले यो घटना केही हदसम्म अलग देखिन्छ। आगामी वर्षहरूमा यसको गहन अध्ययन हुने निश्चित छ। हिमनदीको ठूलो टुक्रा ४ हजार फिटमाथिबाट तल बजारिँदा बरफ धुलोपिठो भएर पानीमा परिणत भएको हुनसक्ने केही वैज्ञानिकहरूको आकलन छ। तर, हामीलाई थाहा भएको एउटा कुरा के हो भने बाढी आगामी दिनमा पनि आउनेछन्। र, तीमध्ये केही त यसपालिको भन्दा पनि विनाशकारी हुन सक्छन्।

हिमालयमा हजारौँ हिमतालहरू छन्हिमालयमा हजारौँ हिमतालहरू छन्

पृथ्वीलाई तताइरहेको कार्बन डाइअक्साइड उत्सर्जनलाई नियन्त्रणमा नलिने हो भने हिमालय पर्वत, काराकोरम, पामिर, हिन्दुकुश र तियानसान सबैलाई समेट्ने एसियाको उच्च भाग तात्नेछ। जसका कारण बाँकी रहेका हिमनदीमध्ये ७५ प्रतिशत सन् २१०० सम्ममा नष्ट हुनेछन्।

मोरेनले छेकेका र बरफ पग्लिएर बनेका खाल्डाखुल्डीमा जम्मा हुने पानीले हजारौँ हिमनदीलाई हिमतालमा परिवर्तन गर्नेछ। त्यस्ता प्रत्येक हिमताल तल्लो भूभागमा बस्ने मानिसहरूका लागि विस्फोट हुन तयार टाइम बम बन्न सक्छ।

यो प्रक्रिया पछिल्ला २० वर्षमा मैले आफ्नै आँखाले देखिरहेको छु। आफ्नो पहिलो यात्राको क्रममा म नेपालको सबैभन्दा लामो हिमनदी ङोजुम्पामा गएको थिएँ। त्यहाँ जान गोक्यो गाउँनजिकै एउटा लामो, फित्ताजस्तो पानीको पोखरी पार गर्नुपर्थ्यो।

थामे गाउँथामे गाउँ

गएको २० वर्षमा बारम्बार त्यो ठाउँमा पुग्दा मैले त्यो सानो पोखरी फैलिँदै गएको देखेँ। त्यसले हिमनदीलाई निल्दै लगेको थियो। २०२५ मा थामेको बाढीबारे रिपोर्टिङ गर्न त्यो ठाउँमा पुग्दा त्यो फित्ताजस्तो लाम्चो पोखरी त ७५० फिट चौडा र ८५० फिट लामो हिमतालमा परिणत भइसकेको थियो।

केही वर्षअघि थामेमा आएको बाढीले साना हिमताल पनि आफैँमा खतरनाक हुनसक्छन् भन्ने देखाएको थियो। त्यसमाथि ठूलो हिमताल बनाउन र ठूलो विपत्ति ल्याउनमा पनि तिनको महत्त्वपूर्ण भूमिका हुन्छ। 

अरु थुप्रै नेपाली हिमनदीजस्तै ङोजुम्पा हिमनदीलाई पनि आसपासका पहाडबाट झरेका ढुंगामाटोको बाक्लो तहले ढाकेको छ। पहिलेपहिले यसरी ढाकेको ढुंगामाटोले बरफलाई पग्लिनबाट रोक्ने हिमनदीविज्ञहरूको धारणा थियो। तर, अहिले हामीलाई थाहा भइसकेको छ– हिमतालले हिमनदी पग्लिने गति तीव्र बनाउँछ। पग्लिएको पानीभित्रको लेदो र हिलोका कारण हिमतालको पानी गाढा खैरो रङको हुन्छ। घाम लागेको दिन कालो टिसर्ट लगाउँदा हामीलाई गर्मी भएझैँ त्यो कालो रङले हिमतालको पानीलाई पनि तताउँछ र वरिपरिको बरफ पगाल्छ।

तातो पानीले हिमनदीलाई भित्रभित्र खोक्रो बनाउन सक्छ। जहाँ अनेकौँ सुरुङ बन्न पुग्छन्। ती सुरुङ भत्किँदा नयाँ खाल्डाखुल्डी बन्छन् र ती खाल्डामा पानी जम्मा भएर नयाँ हिमताल बन्छन्। यसरी क्यान्सरका बिरामीको शरीरमा ट्युमर बढेझैँ तीव्र गतिमा बढिरहेका हिमतालले हिमनदीलाई नै निलिदिन सक्छ।

गोक्यो गोक्यो

इम्जा हिमनदी यसैको नाटकीय उदाहरण हो। खुम्बुमा अनुसन्धानका क्रममा म धेरै पटक यहाँ पुगेको छु।  १९५० को दशकका हवाइ तस्बिरहरूमा यो हिमनदीको सतहमा केही ससाना पोखरी मात्र देखिन्थे। १९७८ सम्म आइपुग्दा हिमनदीको तलतिर फैलिएको अग्रभाग लगभग सबै एउटै पोखरीले ढाकिसकेको थियो। 

२०२१ सम्ममा त तल्लो इम्जा हिमनदी पूरै हिमतालमा बदलिएको थियो। जसको लम्बाइ १.७ माइल र चौडाइ ०.४ माइल छ। यो हिमनदी ४०० फिट गहिरो छ। यो ताललाई पनि बरफ, बालुवा र चट्टानको कमजोर बाँधले थामेर राखेको छ। 

इम्जा हिमताल नेपालको सबैभन्दा ठूलोमध्येको एक र कुनैबेलाको सबैभन्दा खतरनाक हिमताल हो। सन् २०१६ मा नेपाली सेनाले ११ फिट गहिरो खोल्सा खनेर पानीको सतह घटाउने काम गर्‍यो। यसले ताल फुट्दा बाढीबाट हुने जोखिम पनि घटायो। १९८५ मा ताल फुट्दा थामेमा आएको बाढीको घटनाले यस्तो उपाय लगाउन सिकाएको थियो। ३८ वर्षपछि दोस्रो पटक ताल फुट्दा त्यसको असर अभिलेख राख्न म त्यहाँ पुगेको थिएँ।

म हिमनदी विज्ञानमा केन्द्रित भूगर्भशास्त्री हुँ। र, भविष्यमा यस्ता बाढी आउन नदिन के गर्ने, मलाई थाहा छैन। तर, एउटा कुरा भने मलाई निश्चित रूपमा थाहा छ– यस्ता बाढी फेरि पनि आउने छन्।

(द न्युयोर्क टाइम्सबाट। जेसन गली युनिभर्सिटी अफ साउथ फ्लोरिडाका भूगर्भशास्त्रका प्राध्यापक हुन्)

(नेपालखबरबाट)