काठमाडौं, १५ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएका मध्ये अहिलेसम्म ९०३ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट ९०३ जनाको मृत्यु र ४ हजार २४७ जना अझै सम्पर्कविहीन भएको जनाएको हो।
प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२ नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जना छन्। कतिपयको आंशिक मानव अंग मात्र रहेको छ।
जलविद्युत् आयोजनाबाट ९३३ जना, रसुवाबाट ५६२ जना, नुवाकोटबाट १ हजार ५५८ जना, मकवानपुरबाट ६५ जना सम्पर्कविहीन भएका छन्। त्यसैगरी ५९२ जना विदेशी नागरिक, २५ प्रहरी, ४५ सेना, सशस्त्र प्रहरी १३, भन्सार कार्यालय १५, अध्यागमन कार्यालय ४, नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
हराईरहेकाहरुको खोज तथा उद्धारका लागि १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
जलविद्युतको सुरुङबाट शुक्रबार १९१ र शनिबार ८८ जनाको उद्धार भएको बताइएको छ। हालसम्म २२७ जना विदेशी नागरिकको हेलिकोप्टरबाट उद्धार गरिएको छ।





















