काठमाडौं, १० भदौ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीको कारण तिब्बततर्फ गएको ‘हिमचट्टान पहिरो’भएको उल्लेख गरेको छ।
प्राधिकरणले स्याटलाइट तस्बिरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनले नेपाल(चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वबाट बाढी सुरु भएको देखिएको उल्लेख गरेको छ।
‘नेपाल-चीन सिमानामा गएको हिमचट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा प्रवेश गरेको देखिएको छ,’ प्राधिकरणले उल्लेख गरेको छ।
तिब्बतसँग जोडिएको उक्त क्षेत्रमा अवस्थित ल्हेन्दे खोलामा गत वर्ष पनि भीषण बाढी आउँदा ठूलो क्षति पुगेको थियो।
यसैबीच अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड)का विज्ञहरूले पनि आज आएको भीषण बाढीको कारण हिमपहिरो हुन सक्ने औँल्याएका छन्।
‘यस पटक सम्भवतः हिमपहिरोका कारण नदी थुनिएर अचानक पानीको ठूलो बहाव तलतिर आएको हुन सक्छ,’ राष्ट्रिय समाचार समितिलाई इसिमोडका विपद् जोखिम न्यूनीकरणविज्ञ शाश्वत सन्यालले बताए।
इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले गत वर्ष रसुवामा आएको बाढीबाट तहसनहस भएको त्यही क्षेत्र अहिले फेरि जोखिममा परेको औँल्याएका छन्।
‘ल्हेन्देखोलामा आज आएको बाढी हिमपहिरो कारणले भए पनि यसको अझै पुष्टि हुन बाँकी छ। नेपाल–चीन सीमास्थित नदीको माथिल्लो भागमा अझै अवरोध कायम रहेकाले दोस्रो पटक बाढी आउन सक्छ,’ रासससँग उनले भने।
बाढीबाट सो क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको अधिकारीहरूले बताएका छन्।
(बीबीसीबाट)





















