सिरहा, १० भदौ। मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल, सिरहाले सिरहाको मिर्चैयामा विरोध प्रदर्शन गर्दै सिरहा क्षेत्र नम्बर ४ का सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश सभापति तपेश्वर यादवको पुत्ला दहन गरेको छ।

34487b33-9451-4bca-a39d-897f3beab984

मिटरब्याज पीडितहरूले मिर्चैयास्थित संस्था चोकबाट विरोध र्‍याली निकाली थाना चोक हुँदै कटारी चोकको परिक्रमा गरेका थिए।त्यसपछि पुनः संस्था चोकमा पुगेर सांसद यादवको पुत्ला दहन गरेका हुन्।

ddaf09d8-6cd2-4fc0-b5ce-6f02bb5fd55c

प्रदर्शनकारीहरूले हातमा विभिन्न नारासहितका प्लेकार्ड बोकेर ‘फर्जी तमसुक खारेज गर,जिल्ला प्रहरी कार्यालयमा हुँदै आएको धाँधली बन्द गर,पेशेवर सुदखोरलाई गिरफ्तार गर,पीडितलाई न्याय दे,सुदखोरको सम्पत्ति छानबिन गर’ लगायतका नारा लगाएका थिए। उनीहरूले ‘सांसद तपेश्वर यादव मुर्दावाद’ तथा ‘सुदखोरलाई संरक्षण गर्ने सांसद तपेश्वर यादव मुर्दावाद’ भन्दै नाराबाजीसमेत गरेका थिए।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका महासचिव मनोजकुमार पासवानले नेपालमा विगत पाँच वर्षदेखि मिटरब्याज पीडितको आन्दोलन जारी रहेको बताए। उनका अनुसार लेनदेनका कारण लाखौँ व्यक्ति पीडित बनेका छन् भने कतिपयले आफ्नो सम्पत्तिसमेत गुमाइसकेका छन्।गाउँ–गाउँ र टोल–टोलबाट मिटरब्याज पीडितको समर्थन बढ्दै गएपछि सर्वसम्मत रूपमा २०८० सालमा मिटरब्याजसम्बन्धी कानुनी व्यवस्था गरिएको भए पनि पीडितले अझै पूर्ण रूपमा न्याय पाउन नसकेको पासवानको भनाइ छ।उनले केही दिनअघि मात्रै जनकपुरबाट निजगढसम्म पैदल मार्च गरेको र त्यसक्रममा गृहमन्त्री सुदन गुरुङसँग नौबुँदे सहमति भएपछि आन्दोलन स्थगित गरिएको बताए।

२७५ जना सांसद रहेको संसद्मा सांसद तपेश्वर यादवले मात्र सुदखोरको पक्षमा आवाज उठाएको भन्दै पासवानले आपत्ति जनाए। उनले सांसद यादवले सुदखोर साहु–महाजनबाट मोटो रकम लिएर उनीहरूको पक्षमा आवाज उठाएको आरोप लगाए।प्रधानमन्त्री बालेन्द्र साह९बालेन० तथा पार्टी सभापति रवि लामेछाने सहित राज्यका जिम्मेवार व्यक्तिहरू मिटरब्याज पीडितको पक्षमा रहेको अवस्थामा सरकारमा रहेका पार्टीका सांसदले सुदखोरको पक्षमा आवाज उठाउनु गम्भीर विषय भएको पासवानको दाबी छ। उनले सांसद यादवमाथि कारबाही गर्नसमेत माग गरे।गृहमन्त्रीसँग पीडित पक्षको नौबुँदे सहमति भइसकेको अवस्थामा सरकारमा रहेको दलकै सांसदले त्यसविपरीत अभिव्यक्ति दिएको भन्दै आन्दोलनकारीले आपत्ति जनाएका छन्।

महासचिव पासवानले आफूहरूको प्रदर्शन सांकेतिक आन्दोलन मात्र भएको चेतावनी दिँदै माग सम्बोधन नभए सांसद यादवको घर घेराउदेखि देशभर पुनः आन्दोलन चर्काउने र सिंहदरबारसम्म पुग्ने बताएका छन्।

आन्दोलनकारीहरूले सांसद यादवले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने तथा मिटरब्याज पीडितको पक्षमा भएका सहमति कार्यान्वयन गर्दै पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन्।