जनकपुरधाम, ४ भदौ। सर्लाहीको छुट्टाछुट्टै स्थानबाट दश क्विन्टलबढी प्रतिवन्धित लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। जिल्लाको लालबन्दी नगरपालिका र कौडेना गाउँपालिकाबाट  १० क्विन्टल ४३ किलो ९८ ग्राम गाँजासहित दुईजना पक्राउ परेका हुन्। जिल्लाको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका १४, डाइनीखोलाबाट ७४३ केजी ९८० ग्राम गाँजासहित स्थानीय ६७ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङ पक्राउ परेका छन्। 

घरमा गाँजा लुकाएर राखिएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लालबन्दी र लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले नरबहादुर र जेसुनमायाको घरमा फलामको ड्रम तथा बोराभित्र लुकाइराखिएको गाँजा बरामद गरेको हो। प्रहरी टोलीले सो स्थानमा मकैबारीभित्र दुई कठ्ठामा रहेको गाँजाको बेर्नासमेत नष्ट गरेको छ। 

सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने नारायणखोलास्थित डाइनीखोलामा गाँजा बरामद गर्न प्रहरी टोली दुईवटा ट्याक्टर चढेर पुगेका थिए। सडक नपुगेको त्यस ठाउँमा बाढी आएर खोलाबाट गाडी जान नसकेपछि प्रहरीहरु गाँजा बरामदका लागि ट्याक्टर चढेर पुगेका हुन्। 

प्रहरीले बारम्बार नारायण खोलाबाट गाँजा बरामद गर्ने र गाँजाको खेती नष्ट गर्ने गर्दै आइरहेको छ। भौगोलिक हिसाबले विकट रहेको यस ठाउँका स्थानीयले प्रहरीको उपस्थिति नहुने भएकाले गाँजा खेती गर्दै आइरहेका छन्। 

गाँजा खेतीबाट नारायणखोलासहित सर्लाहीको चुरेभेगको स्थानीयले राम्रो आम्दानी गर्दै आइरहे पनि नेपालको विद्यमान कानुनले गाँजालाई अवैध खेती र लागुऔषध मानेको छ। यस्तै, प्रहरीले सर्लाहीको दक्षिणी भेगस्थित कौडेना गाउँपालिका १, लक्ष्मीपुरबाट तीन क्विन्टल गाँजा बरामद गरेको छ।

स्थानीय बिजन पटेलको घरमा १५ वटा बोरामा राखिएको ३०० केजी गाँजा बरामद भएको हो। घरधनी पटेल भने फरार रहेको र उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ। सर्लाही प्रहरीका सूचना अधिकारी डिएसपी वेदप्रसाद गौतमले बरामद भएको लागुऔषध गाँजाको सम्वन्धमा अनुसन्धान जारी रहेको जानकारी दिए।