जनकपुरधाम, ३ भदौ। मधेश प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका नवौंदेखि एघारौं तहसम्मका १४ जना कर्मचारीलाई दरबन्दी रहेकै कार्यालयमा काज फिर्ता गरेको छ।

प्रदेश सरकारले लामो समयदेखि दरबन्दी रहेको भन्दा अन्य कार्यालयमा काजमा कार्यरत कर्मचारीलाई दरबन्दी भएको ठाउँमै फर्काउने निर्णय गरिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार गरेको काज फिर्ता निर्णयमा स्वास्थ्य शिक्षा प्रशासक एघारौं तहका सुरोज चन्द्र न्यौपानेको काज फिर्ता गरेको छ। काजमा आएर स्वास्थ्य निर्देशनालय मधेश प्रदेश कार्यालय सपहीका निर्देशक रहेका उनलाई दरबन्दी भएको प्रदेश स्वास्थ्य तालिम केन्द्र, पथलैयामा काज फिर्ता गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार वरिष्ठ स्वास्थ्य प्रशासकतर्फका दशौं तहका डा. नवलकिशोर झालाई स्वास्थ्य निर्देशनालय, सपहीमा काज फिर्ता गरिएको छ। निर्देशनालयमा दरबन्दी रहेका उनी काजमा स्वास्थ्य कार्यालय सर्लाहीमा प्रमुख थिए।

इन्टर्नल मेडिसिन तर्फका डा. विपिनकुमार झालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय फर्काइएको छ। कार्यालयको अतिरिक्तमा राखिएका उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काजमा कार्यरत थिए।

प्रादेशिक अस्पताल गौर, रौतहटमा दरबन्दी रहेका जनरल फिजिसियन डा। सञ्जीतकुमार झा, बालरोग विशेषज्ञ डा. रवीन्द्रकुमार साह, रेडियोलोजिस्ट डा. गिरीरञ्जन प्रधान, एनेस्थेसियोलोजिस्ट डा. रौशनकुमार साह र मनोचिकित्सक डा. दिव्यांशु झालाई प्रादेशिक अस्पताल गौरमा काज फिर्ता गरिएको छ।

दरबन्दी गौर अस्पतालमा रहेका उनीहरू काजमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत्त थिए।

त्यसैगरी प्रादेशिक अस्पताल मलंगवा, सर्लाहीमा दरबन्दी रहेका बालरोग विशेषज्ञ डा. जितेन्द्र जयसवाल र गाइनोक्लोजिष्ट डा. बृजमोहनकुमार रजकलाई पनि सम्बन्धित दरबन्दी कायम रहेको कार्यालयमा फिर्ता गरिएको छ। उनीहरू प्रादेशिक अस्पताल जनकपुरमै लामोसमयदेखि काजमा कार्यरत थिए।

प्रादेशिक अस्पताल कलैया, बारामा दरबन्दी रहेका बालरोग विशेषज्ञ डा. विकासकुमार साह र एनेस्थेसियोलोजिस्ट डा. संदीप शर्मालाई पनि काज फिर्ता गरिएको छ। उनीहरू पनि प्रादेशिक अस्पताल जनकपुरमा काजमा कार्यरत थिए।

यस्तै, प्रादेशिक अस्पताल सिरहामा दरबन्दी रहेका जनरल मेडिसिन तर्फका डा। कृष्णकुमार यादव र अर्थोपेडिक सर्जन डा। रवि श्रीवास्तवलाई समेत दरबन्दी भएकै स्थानमा फर्काइएको छ। यादव प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत थिए भने श्रीवास्तव डा। श्रीवास्तव जलेश्वरमा थिए।

विभिन्न स्थानमा दरबन्दी भएपनि पछिल्लो समय प्रदेश राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकहरू बस्न बढी रुचाउने गरेका छन्। यही कारण अन्यत्रबाट काजमा आएर बस्ने गरेको देखिन्छ।

त्यस्तै, अन्यत्र दरबन्दी भएपनि मालदार अड्डामा काजमा गएर बस्ने प्रवृत्ति पनि रहेको छ। यी विकृतिहरूलाई हटाउने प्रयास स्वरूप दरबन्दी भएकै स्थानमा कामकाज गर्ने गरी काजफिर्ताको नीति लिएको सरकारको दाबी छ।