सिरहा, २ भदौ। उत्पादन परिमाण र क्षेत्रफलको हिसावले सबैभन्दा बढी आँप उत्पादन हुने सिरहामा आँप व्यवसायीहरुले आँपको मौसममा जिल्लाका विभिन्न स्थानीय तहलाई पायक पर्नेगरी थोक बिक्री स्थल तोकिदिन माग गरेका छन्। जिल्लाका विभिन्न भागमा छरिएर रहेका आँप व्यवसायीहरुको संगठन आँप व्यवसाय संघको गोलबजारमा सम्पन्न बृहत् भेलाले आँपको बिक्रीका लागि व्यवस्थित थोक स्थल तयार गरिदिन प्रदेश र संघीय सरकारलाई गुहार्ने निर्णय गरेका हुन्।
व्यापारीहरुले किसानको बगैंचाबाट आँट टिपेर सोझै तोकिएको बिक्रीस्थलसम्म ल्याउँदा आँपको ढुवानीमा लाग्ने रकम घट्नेसँगै फुट्ने जोखिम कम हुने र त्यसले व्यापारी तथा किसान दुवैलाई फाइदा हुने संघका अध्यक्ष जगदीश यादवले बताए।
‘बिक्रीस्थलसम्म ल्याउँदा जति न्यून क्षति भयो, त्यति फाइदा हुन्छ’ उनले भने ‘व्यापारीले कवोल गरेको ठेक्का रकम अनुसार बिक्री गर्न सकियो भने किसानले पनि बेलैमा भुक्तानी पाउने भएकाले दुवै पक्षलाई फाइदा हुन्छ।’ संघका महासचिव विजयकुमार रामका अनुसार आँपको खुद्रा व्यापारले स्थानीय हाटबजार अव्यवस्थित हुनुका साथै नोक्सानीको जोखिम पनि बढी हुने भएकाले थोक बिक्री केन्द्रको आवश्यकता महसूस भएको बताए। त्यसका लागि स्थानीय सरकारसँगै प्रदेश र संघीय सरकार जिम्मेबार बन्नु पर्ने उनले बताए।
पछिल्लो आँपको सिजनदेखि डिजलमा भएको मूल्यबृद्धिको कारणले बगैंचा ठेक्का लिएका व्यवसायीले गर्दै आएको खनजोत आउने सिजनमा आर्थिक रुपले नसक्ने आवस्थामा पुगेको उनीहरुको गुनासो छ। बगैंचा लगाएका सम्बन्धित किसानले नै खनजोत गर्नुपर्ने, त्यति गर्न नसक्ने हो भने पनि ट्याक्टर लगाएर जोत्दा कम्तिमा ५० प्रतिशत लागत साझेदारी गर्नुपर्ने आफूहरुको अडान रहेको कोषाध्यक्ष सन्तोष पूर्वेले बताए।
प्रायः हरेक वर्ष माघ महिनादेखि आँप फुल्न थालेदेखि नै व्यापारीहरुले सम्बन्धित किसानसँग लिखित, मौखिक करार सम्झौता गरी सिंंगो बगैंचा नै ठेक्का लिएर खनजोत, सिंचाइ, हेरचाह लगायतका काम गर्दै आएको उनले बताए। ‘इन्धनमा भएको चर्को मूल्य बृद्धिले विगतमा जोताइमा पाँच हजार लाग्ने बगैंचामा दोब्बर बढी १० हजारसम्म लाग्छ’ उनले भने ‘आँप टिपेपछि अन्यत्र निकासी गर्दा ढुवानी खर्च पनि बढेकाले व्यापारीहरु पनि आर्थिक समस्यामा परेका छन्।’
कृषि ज्ञान केन्द्र सिरहाका अनुसार विशेषगरी पूर्व पश्चिम लोकमार्गदेखि उत्तर कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई र लहान क्षेत्रमा गरी १० हजार ५० हेक्टर जग्गामा आँप बगैंचा रहेको छ। त्यसमध्ये नौ हजार ५० हेक्टर क्षेत्रफलमा आँप उत्पदान भइरहेको केन्द्रका सूचना अधिकारी सुदिप खनालले जानकारी दिए।
उनका अनुसार पछिल्लो आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लामा ७२ हजार चार सय मेट्रिक टन आँप उत्पादन भएको थियो। सिरहामा उत्पादन गरिएको आँप संघीय राजधानी काठमाडौंसहित मुलुकका विभिन्न मुख्य शहरहरुमा बिक्रीका लागि पठाउने गरिन्छ।
भेलाको व्यवस्थापन न्यू शिव एग्रोेभेछ धनगढीमाई ७ कसहाले गरेको आयोजकले जनाएको छ।






















