काठमाडौँ, ८ असोज। नेपाल राष्ट्र बैंकले बिहीबारदेखि एक हजार दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले असोज ८ गते साविककै आकारमा रंग परिवर्तन गरिएको एक हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ नोट चलनचल्तीमा ल्याएको जनाएको छ। 

नयाँ नोट वैजनी रंगको घेराभित्र फिक्का हरियो रंगको छ। नोटको अग्र भागको मध्य खण्डमा श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइने छ भन्ने उल्लेख छ।

नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। नोटको दायाँतर्फको तल्लो भागमा दृष्टिविहीन व्यक्तिले स्पर्श गरी पहिचान गर्न सहजताका लागि एक हजार अंक जनाउने रोमन अक्षर एम राखिएको छ । सगरमाथाको बायाँतर्फ र पानीछापको दायाँतर्फ १०–१० वटा तेर्सा रेखा राखिएका छन्।

सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र राखिएको छ। नोटमा ३ दशमलव ५ मिलिमिटर चौडाइको सुरक्षण धागो राखिएको छ। नयाँ नोटमा गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर छ।

नोटको पृष्ठ भागको मध्य खण्डमा राम र लक्ष्मण भनी चिनिने जुम्ल्याहा दुई हात्तीहरूको चित्र राखिएको छ। नोटको पृष्ठ भागमा पानीछापको दायाँतर्फ नेपालको सातवटा प्रदेश जनाउने गरी सातवटा लालीगुराँसका चित्र प्रयोग गरिएको छ। केही दिनअघि राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोटको सिरिज सार्वजनिक गरेको थियो।