सिराहा, २५ साउन। सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फुलकुमारी महतो माध्यमिक विद्यालयको मुख्यद्वार अगाडी बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बोलबमका भक्तजन सवार ज १ त ४८०८ नम्बरको ट्याक्टर उकालोमा नियन्त्रण गुमाएर पल्टिएको धनुषाको जनकपुरधाम उपमहानगरपालिका १५ रामपुरटोलका १५ जना घाइते भएका हुन्।
दुर्घटनामा परी १३ वर्षीय अनुराग मण्डल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा१७ वर्षीय कृष्णा मण्डल, ४० वर्षीया गंगिया मण्डल, १८ वर्षीय राहुल दास, १३ वर्षीय प्रिन्स दास, १८ वर्षीय गोपाल यादव, १७ वर्षीय पंचा मण्डल, ३३ वर्षीया मोना कुमारी मण्डल, ५० वर्षीया चन्द्र कुमारी दास, ६० वर्षीया रामदुलारी दास, ४४ वर्षीया राम कुमारी दास, १३ वर्षीय कृष्णा कुमार यादव, १७ वर्षीय आसिस कुमार यादव, १२ वर्षीय बिकी मण्डल र बिना कुमारी मण्डल रहेका छन्।
घटनालगत्तै स्थानीय र प्रहरीले घाइतेहरूलाई उद्धार गरी फुलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हा पुर्याएका थिए।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय बन्दीपुरले ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। चालक भने फारार रहेको छ। धनुषाको जनकपुरधाम १५ का करिब ३५ वर्षीय रामबिहारी मण्डलले ट्याक्टर चलाएका थिए प्रहरीले फरार चालकको खोजी तीव्र बनाउनुका साथै घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।






















