सिरहा, १६ साउन। सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको आज दाहासंस्कार भएको छ। सिरहाको औरही गाउँपालिका २ तुलसियाहीस्थित घरमा नेपाली सेनाको हेलिकप्टरमार्फत शनिबार साझमात्र शव आईपुगेकोले अहिले अहिले अत्योष्टि भएको हो।
धरानबाट अवेरमात्र नेपाली सेनाको हेलिकोप्टबाट ल्याएको शव औरही २ तुलसियाही घरदेखि करिव २ किलोमिटर पूर्वमा रहेको राधाकृष्ण मन्दिर नजीक अवतरण गरिएको थियो। अवतरण गरे लगदै शव एम्वेलेन्समा राखेर घर पुर्याएका थिए।
घर पुर्याएर शवलाई परम्परा अनुसार विधिगरेर गाउँ परिक्रमा गरी दाहासंस्कारको लागि नजीकैको गागन खोलामा लगिएको छ। बिहीबारकैदिन यादवको शव पोष्टमार्टमको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो।
दुई बजे नै शव ल्याउने भनेपछि वरपरका गाउँमा मानिसहरु शव हेर्न जम्मा भएका थिए। शव आएलगतै हजारौंको संख्यामा उपस्थित महिला, युवा, पुरुष तथा बालकालिका रोएका थिए। उनको शव यात्रामा हजारौंको संख्यामा आफन्त तथा गाउँलेहरु भेला भएका थिए।
हिजो राति अवेर गृह मन्त्री गुरुङ यादवको घरमै पुगेर आठबुँदे सहमति पछि आज शव ल्याइएको हो।
सहमति अनुसार नेपाल सरकारको तर्फबाट यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, सरकारको तर्फबाट १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने, २०८३ साउन १४ गते गोलबजार क्षेत्रमा भएको घटनाको निश्पक्ष र प्रभावकारी छानविन गरी दोषी माथि प्रचलित कानून बमोजिम कार्वाही प्रकृया तत्काल अगाडी बढाउने, मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने गृहमन्त्री गुरुङ र मृतकका वृवा रामवृक्ष यादवविच भएको छ।
सहमतिमा मृतकका भाइ–बहिनीलाई निःशुल्क शिक्षा तथा बुबा–आमालाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने, गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने, मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने र आवास निर्माणको लागि आवश्यक पहल गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ।
सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।


























