सिरहा, १६ साउन। सिरहाको गोलबजारमा बिहीबार प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र नेपाल सरकारबीच मध्यराति आठ बुँदे सहमति भएको छ। गृहमन्त्री गुरुङ मृतक यादवको घर औरही गाउँपालिका २ तुलसियाहीमा पुगेरै सहमति गरेका हुन्।
सहमति अनुसार नेपाल सरकारको तर्फबाट यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, सरकारको तर्फबाट १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने, २०८३ साउन १४ गते गोलबजार क्षेत्रमा भएको घटनाको निश्पक्ष र प्रभावकारी छानविन गरी दोषी माथि प्रचलित कानून बमोजिम कार्वाही प्रकृया तत्काल अगाडी बढाउने, मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने गृहमन्त्री गुरुङ र मृतकका वृवा रामवृक्ष यादवविच भएको छ।
सहमतिमा मृतकका भाइ–बहिनीलाई निःशुल्क शिक्षा तथा बुबा–आमालाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने, गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने, मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने र आवास निर्माणको लागि आवश्यक पहल गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ।
सहमतिअनुसार आज शुक्रवार (साउन १६) गणेश यादवको दाहसंस्कार गर्ने पनि उल्लेख गरिएको छ।
सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
गृहमन्त्री गुरुङको प्रतिक्षमा हिजो दिनभर स्थानीय र आफन्त जम्मा भएर वसेका थिए। गृहमन्त्री भने मध्यरातीमात्र गाउँ पुगेका थिए।






















