सिरहा, १५ साउन। सिरहाको गोलबजारमा आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको घर औरही जानभनेर आएका गृहमन्त्री सुदन गुरुङ सिरहाको लहान सुरक्षा निकाय र रास्वपा सांसदहरुसंग छन्। लाहान आएलगतै सुरक्षा निकाय र रास्वपा सांसदहरुसँग छलफलमा जुटेका हुन्।

लहान नगरपालिका कार्यालयमा सुरक्षा निकाय र सांसदहरूसँग मृतक गणेश यादवको घर कतिबेला जानेबारे  छलफल भईरहेको त्यहाँ सहभागी एक सांसदले जानकारी दिए। 

सुनसरीको घटनालाई लिएर हिजो विहिवार गोलबजारमा आन्दोलनको क्रममा प्रहरीले चलाको गोली लागेर औरही २ तुलसीयाहीका करिव १५ वर्षिय यादवको मृत्यु भएको थियो। 

आजै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, रास्वपा सांसद पुरुषोत्तम यादवसिहत सुरक्षाकर्मीहरु मृतक यादवको घर पुगेका थिए। त्यहाँ केहीलाई नियन्त्रणमा लिएकाले विवाद चुलिएको थियो।

पछि नियन्त्रणमा लिएकाहरुलाई छोडेपछि भने विवाद साम्य भएको त्यहाँ पुगेका एक संचारकर्मीले जानकारी दिए। त्यहाँबाट सांसद र प्रजिअ निस्केपछि जिल्लाका सांसद, गृहमन्त्री र प्रधानमन्त्री विरुद्ध स्थानीयले नाराबाजीसमेत गरेका थिए। नाराबाजी भएका कारण आजै गणेश यादवको घरमा जाने–नजाने भन्ने विषयमा छलफल भइरहेको छ। गृहमन्त्री आएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। 

छलफलमा पूर्वमन्त्री तथा सांसद बब्लु गुप्ता, शिव यादव र पुरुषोत्तम यादवसमेत सहभागी रहेका छन्।