सिरहा, १४ साउन। सिरहाको गोलबजार ४ क्याम्पसु चोक नजिक बिहीबार दिउँसो झडप हुँदा गोली लागेर एक किशोरको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । 

IMG_20260730_151016

स्थानीय प्रशासनले दिउँसो २ बजेदेखि लगाएको कफ्र्युकै समयमा क्याम्पस चोक नजिक झडप हुँदा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिका २ तुलसीपुरका करिब १७ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको उनले बताए । 

IMG-20260730-WA0025

झडपको क्रममा धनुषा घर भएका करिब १९ वर्षीय सुवाष ठाकुर घाइते भएका छन् । उनलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको स्थानीय प्रहरीले जनाएको छ । कफ्र्यु शुरु हुँदै गर्दा गोली लागेर एक जनाको मृत्यु र अर्का जना गम्भीर घाइते भएपछि गोलबजारको अवस्था अहिले तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरुले गोलबजार क्षेत्रका पसल, एबी मलमा आगजनी गर्नुका साथै पार्किङ् गरी राखिएका मोटरसाइकल समेत आगजनी गरेपछि ठूलो संख्यामा सशस्त्र प्रहरी, जनपद प्रहरी परिचालन गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणको आधारमा आन्दोलन वा हुलदंगा भई शान्ति सुरक्षा भंग हुने देखिएको भन्दै बिहीबार दिउँसो २ बजेदेखि सिरहको गोलबजार क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम पूर्व पश्चिम लोकमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका ३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चोक, उत्तरतर्फ गोलबजार ६ को सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार ४ को रामप्रसाप रामप्रसाद तामङ् जनता बहुमुखी क्याम्पस वरिपरिको क्षेत्रमा लागू हुनेगरी दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यु जारी गएिको छ । 

लहानमा पनि अनिश्चितकालीन कफ्र्यु

जिल्ला प्रशासन कार्यालयले पछिल्लो सुरक्षा स्थितिको विश्लेषणको आधारमा आन्दोलन वा हुलदंगा भई शान्ति सुरक्षा भंग हुने देखिएको भन्दै जिल्लाको मुख्य व्यापारिक केन्द्र लहानमा पनि अपरान्ह ४ बजेदेखि कफ्र्यु आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम पूर्व पश्चिम लोकमार्गको पूर्वतर्फ लहान बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटलदेखि पश्चिम) सम्म, दक्षिणतर्फ पूर्व पश्चिम लोकमार्गको पाँच सय मिटर क्षेत्रसम्मको वरिपरिको क्षेत्रमा लागू हुनेगरी अपरान्ह ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यु जारी गरएको छ । 

कफ्र्यु आदेश जारी भएको क्षेत्रमा कोही कसैले आवतजावत गर्न, भेला तथा प्रदर्शन, सभा बैठक, घेराउ, नाराबाजी नगर्न नगराउन, कफ्र्यु आदेशको बर्खिलाप हुनेगरी कुनै गतिविधि भए गरेमा, आदेश नमानेमा सुरक्षाकर्मीले चेतावनीसहित गोली समेत चलाउन सक्ने सूचनामा उल्लेख छ ।