गोलबजार, ११ साउन। गोलबजार नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष सकलदेव यादवले आर्थिक तथा सामाजिक समस्याका कारण कुनै पनि किशोरी शिक्षाबाट वञ्चित हुन नहुन बताए। उनले किशोरीहरूको शिक्षा निरन्तरताको लागि स्थानीय सरकार र संघसंस्थाहरुले मिलेर काम गर्नु पर्नेमा जोड दिए।
उनले पढाइमा नियमिताले बालविवाह रोकथाममा महत्त्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्दै बालविवाह अन्त्य र विद्यालय छोड्ने जोखिम न्यूनीकरणका लागि वडा कार्यालयले विद्यालय, अभिभावक र सामाजिक संस्थाहरूसँग सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए।
मुक्ति नेपालले नियमित विद्यालय आउन सहयोग पुग्ने उदेश्यले जनता माध्यमिक विद्यालय (प्राविधिक), गोलबजार ४ मा एक कार्यक्रमको आयोजना गरी जोखिममा रहेका २२ जना किशोरीलाई विद्यालय झोला, कापी, ज्यामिती बक्स, डटपेनलगायतका शैक्षिक सामग्री वितरण गरिएको हो।
विद्यालयका प्रधानाध्यापक भरत प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुक्ति नेपालकी कोषाध्यक्ष बबिता मिश्र, विद्यार्थीका अभिभावकलगायतको उपस्थिति रहेको थियो।























