सिरहा, २५ असार। सिरहाको विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपत्र दायर  गरेको छ।

साना किसान कृषि सहकारी संस्था लि. विष्णुपुर गाउँपालिका १ मा धान प्रशोन उद्योग स्थापना कार्यमा हिनामिना गरेको भन्दै महतसहित  संस्थाका तत्कालिन अध्यक्ष सरोज कुमार यादवसहितको विरुद्ध सार्वजनिक सम्पति हानिनोक्सारी गरी प्रष्टाचार गरेको भन्दै आरोपत्र दायर भएको हो। 

आयोगले गाउँपालिकाका इन्जिनियर एवम् योजना शाखा प्रमुख अनिक यादव, तत्कालीन लेखापाल रमेश गदाल, सहकारी संस्थाका तत्कालीन सञ्चालक समितिका सदस्य राजेश्वरप्रसाद सिंह, सहकारी संस्था अन्तर्गत धान प्रशोधन उद्योग स्थापनाका लागि गठित निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोजकुमार यादव, कोषाध्यक्ष कविता कुमारी र सचिव रामबाबु यादवविरुद्ध मुद्दा दायर गरिएको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

उनीहरूविरुद्ध जनही ४९ लाख २० हजार ९०३ रुपैयाँ बिगो माँग दाबी गरिएको विज्ञप्तीमा उल्लेख भएको छ।

धान प्रशोधन उद्योग स्थापनाका लागि नेपाल सरकारबाट प्राप्त रकम साना किसान कृषि सहकारी संस्था लिमिटेडका बन्धक सञ्चालक समिति लगायतको मिलेमतोमा उपभोक्ता समिति खडा गरी फर्जी मूल्याङ्कन बनाई रकम भुक्तानी लिएको भन्ने उजुरीको आधारमा आयोगले उनीहरूमाथि अनुसन्धान गरेको थियो।

आर्थिक वर्ष २०७७÷७८ मा धान प्रशोधन उद्योगको लागि कृषि सहकारी संस्थामार्फत ५० प्रतिशत लागत साझेदारी कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँ बजेट स्वीकृत भएको थियो। विष्णुपुर गाउँपालिकाको मिति २०७८ जेठ १७ मा योजना फारम अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ को उपनियम (१क) बमोजिम मूल्य अभिवृद्धि कर, ओभरहेड कन्टिजेन्सी रकम र जनसहभागिताको अंशसमेत रकम समावेश भएको लागत अनुमान एक करोड रुपैयाँसम्म मात्र निर्माण कार्य गराउनु पर्नेमा सो व्यवस्था विपरीत अनुमानित लागत एक करोड ११ लाख दुई सय ५० रुपैयाँ आठ पैसा विनियोजन गरेको विज्ञप्तीमा उल्लेख गरेको छ। 

बजेट विनियोजन र उपभोक्तालाई कृषि सहकारीको लागत साझेदारी अनुसार भुक्तानी गराउनु पर्नेमा नियमि विपरित जानी जानी ४९ लाख, २० हजार ९०३ रुपैयाँ भुक्तानी दिएर अनियमितता गरेको उल्लेख गरिएको छ।