सिरहा, १९ असार। मधेस प्रदेश खेलकुद परिषद्को आयोजनामा सिरहाको गोलबजारमा सञ्चालित प्रदेश स्तरीय दुई दिवसिय पुरुष रग्बी तथा बुद्धिचाल प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ।
गोलबजार नगरपालिका ८ स्थित जनता नमुना माध्यमिक विद्यालय, चन्द्रलालपुर चोहर्वाको खेलमैदानमा सम्पन्न रग्बी प्रतियोगितामा सर्लाहीले बाजी मारेको छ। बुद्धिचाल प्रतियोगितामा भने सिरहाले जित हासिल गरेका छन्।

प्रतियोगिताअन्तर्गत रग्बीतर्फ सर्लाही उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ। सिरहाले दोस्रो स्थान हासिल गर्दा सप्तरी तेस्रो स्थानमा सिमित भएको आयोजकले जनाएको छ।

रग्बी प्रतियोगितामा सर्लाहीका जर्सी नम्बर १ का खेलाडी रोहित वम्जन उत्कृष्ट खेलाडी घोषित भएका छन्। उनलाई ट्रफीबाट सम्मानित गरेका थिए। त्यसैगरी, सप्तरीका जर्सी नम्बर ११ का शिवम चौधरी उदयमान खेलाडी घोषित हुँदै ट्रफी प्राप्त गरेका छन्।
प्रतियोगिता समापनको अवसरमा खेल सफल बनाउन योगदान पु¥याउने अतिथि, रेफ्री, प्रशिक्षक (कोच), टिम प्रतिनिधि, पत्रकार तथा अन्य सहयोगीहरूलाई आयोजकले मायाको चिनो प्रदान गरी सम्मान गरेको थिए।
रग्बी प्रतियोगितामा प्रदेशका ६ जिल्लाका खेलाडी सहभागी भएका थिए।
यस्तै, बुद्धिचालतर्फ सिरहाले पहिलो उपाधि आफ्नो नाममा पार्दा गराउँदा सप्तरी दोस्रो र बारले तेस्रो स्थानमा रहन सफल भएका छन्।
बुद्धिचाल प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाकै २४ जना खेलाडीहरु सहभागी रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताले मधेस प्रदेशमा रग्बी र बुद्धिचाल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा जिल्लाबीच खेलमैत्री सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याएको बताए।
परिषद्का सदस्य निशेष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव शिव गुप्ता कानु प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा परिषद्का सदस्य प्रभु नारायण शिवाकोटी, जिल्ला खेलकुद संघ सिरहाका अध्यक्ष श्रवण हमाललगायत विभिन्न अतिथि, खेल पदाधिकारी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।






















