सिरहा, १९ असार। सिरहाको गोलबजार नगरपालिका १३ नम्वर वडाले विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘कपि–कलम उपहार’ अभियान सुरु गरेका छन्। यस वडामा रहेका आधारभूत विद्यालय, बलिराजपुरमा अध्ययनरत विद्यार्थीलाई कपी कलम प्रदानगर्दै वडा अध्यक्ष नन्दकुमार महतोले आजबाट अभियान सुरुगरेका हुन्।

छात्रछात्रालाई कपी कलम हस्तान्तरण गर्दै वडा अध्यक्ष महतोले सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थितिको संख्या कमजोर हुनेगरेकाले नियमित विद्यार्थी उपस्थिति गराउने उदेश्यसहित अभियान सुरुगरेको बताए।
उनले भने, ‘विभिन्न कारणले सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थित कमजोर हुने गरेको छ, यो अभियानले नियमित उपस्थितिको लागि प्रेरित गर्ने लागेर आजबाट कपीकलम वितरण गरेका हौं। नियमित विद्यालय आउने विद्यार्थीकालागि हामी आवश्यक कपी र कलम वडाले व्यवस्थापन गर्ने गरी योजना बनाएका छौं।’
वडा अध्यक्ष महतोका अनुसार नियमित विद्यालय आउने वित्तिकै शैक्षिक गुणस्तर सुधार हुने विश्वास व्यक्त गरे।
वडा अध्यक्ष महतोले अभिभावकलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन आग्रह गर्दै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि अभिभावक, विद्यालय र स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेको बताए। उनले शिक्षा क्षेत्रमा गरिने यस्ता अभियानले विद्यालयमा विद्यार्थीको उपस्थितिसँगै सिकाइ उपलब्धिमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
यस विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ५ सम्मका २३६ जना विद्यार्थीलाई कपी कलम प्रदान गरिएको थियो।
उनका अनुसार महिनामा करिब २० दिन अर्थात कम्तीमा ७० प्रतिशत उपस्थिति हुने विद्यार्थीलाई कापी, कलम, पेन्सिललगायतका आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइनेछ।
यस वडामा २ वटा आधारभुत विद्यालय रहेका छन्।
गोलबजार नगरपालिकाका १३ वडामध्ये वडा नं. ११ र वडा नं. १३ ले यो अभियान सञ्चालनमा ल्याएका छन्।






















