काठमाडौ., १७ असार। असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले पूर्वसांसद लक्ष्मी महतो कोइरी सहितका अभियुक्तहरूलाई पाँच वर्षको कैद सजाय हुने फैसला गरेको छ।
उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै अभियुक्तहरू कोइरी, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्षको कैद सजाय सुनाएको हो।
यसअघि महोत्तरी जिल्ला अदालतले कोइरी र कापरलाई सफाइ दिने फैसला गरेको थियो।
बुधबार उच्च अदालतका मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर कोइरी र कापरलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको हो।
त्यसै गरी जिल्ला अदालतले जन्मकैदको सजाय सुनाइएका शर्मा, राय, मिश्र र पाण्डेको हकमा जिल्ला अदालतको फैसला उल्ट्याएर ५ वर्षमात्रै कैद सजाय हुने फैसला उच्च अदालतले गरेको छ।
यसअघि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको सजाय भने उच्च अदालतले सदर गरेको छ।
जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते कोइरीलाई सफाइ दिएको थियो।
२०७२ भदौ २५ मा भएको असई विक हत्या प्रकरणमा तत्कालीन एमालेका प्रतिनिधिसभा सदस्य महतोसहित २८ जनाविरुद्ध २०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।
नेपालखबरबाट।























