सिरहा, १६ असार। सहारा विहिन सिरहाको गोलबजार नगरपालिका ९ डण्डाका ८ वर्षीय शेखर यादव र उनका दुई साना बहिनीलाई हेल्पिङ हर्ट नेपालले आइतवार  विद्यालयमै पुगेर आवश्यक शैक्षिक सामग्री र विद्यालय पोशाक हस्तान्तरण गरेको छ। उनीहरुको संघर्षपूर्ण जीवनको विषयमा सञ्चारमाध्यममा समाचारहरु प्रशारण पछि विभिन्न क्षेत्रबाट सहयोगी हातहरु सहयोगका लागि पुगेका हुन्।  

ht n

जनता माध्यमिक (प्राविधिक) विद्यालय, गोलबजार ९ मै गएर संस्थाले शेखर, उनकी वहिनीहरु ५ वर्षीया सोनाक्षी र ३ वर्षीया दिव्यांशी यादवका लागि पाठ्यपुस्तक बोक्ने झोला, कापी–कलम, पानी राख्ने बोतल, विद्यालय पोशाक, साबुन, स्याम्पु तथा दैनिक सरसफाइका सामग्री हेल्पीङ हर्टले उपलब्ध गराएको छ। साथै आगामी दिनमा पनि अध्ययनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

हेल्पिङ हर्ट नेपालका महासचिव मेराज खानले बालबालिकाको पीडादायी अवस्था सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि संस्था सहयोगका लागि अघि बढेको बताए। उनले भने, ‘यी बालबालिकाको दुःखले हामी सबैलाई भावुक बनायो। उनीहरूको शिक्षामा कुनै बाधा नहोस् भन्ने उद्देश्यले तत्काल आवश्यक शैक्षिक सामग्री सहयोग गरेका हौँ। आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिनेछौं।’

सहयोग प्राप्त भएपछि शेखरले खुसी व्यक्त गर्दै सहयोगी संस्था तथा सबैप्रति आभार व्यक्त गरे। उनले भने, ‘सहयोगको लागि धेरै धेरै धन्यवाद, यस्तै सहयोग भइरहे हामी राम्रोसँग पढ्न सक्छौं।’

विद्यालयका शिक्षक प्रमोद कुमार सिंहले सञ्चारमाध्यमले उठाएको विषयकै कारण बालबालिकाले सहयोग पाउन थालेको भन्दै खुसी व्यक्त गरे। मिडियाकै कारण आज सहयोगी संस्था विद्यालयसम्म आइपुगेको उनले बताए। 

गोलबजार नगरपालिका ९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले पनि सहयोगी संस्था र समाचार सम्प्रेशण गर्ने सञ्चारमाध्यमलाई धन्यवाद व्यक्त गर्दै स्थानीय सरकारका तर्फबाट पनि आवश्यक सहयोगका गर्ने प्रतिबद्धता जनाए।


shuva shree school