सिरहा, १६ असार। यतिवेला सिरहाका आँप किसानलाई भ्याईनभ्याई छ। जेठ असार आँप पाक्ने मुख्य सिजन  भएकाले जिल्लाका आँप उत्पादक किसानलाई आँप टिपेर बजार पुर्याउने चटारो भएको  हो। 

आँप किसान अहिले आँप टिप्ने, कार्टुनमा प्याक गर्ने र देशैभरीका बजार तथा ठूला सहरमा पुर्याउन कार्यमा व्यस्त छन्। 

09b0e169-cc5e-4adf-98f0-e37d3243c386

देशकै आँप उत्पादनमा मधेसको सिरहा जिल्लालाई अग्रणी मानिन्छ। सिजनमा यहाँका आँप उत्पादक किसान व्यस्त रहनु स्वभाविक पनि हो। पूर्वपश्चिम राजमार्गको सडक किनारा छपक्कै ढाकिनेगरी राखिएको आँप पुर्याउने कार्यमा किसानको व्यस्तता बढेको छ। 

गोलबजार नगरपालिका १ बरडाँडाका ४७ वर्षिय किसान गुरुदेव पूर्वे हिजोआज विहानै देखि आँप टिप्ने, प्याक गर्ने मजदुर, आँप प्याकगर्ने क्रेट र काजग ट्याक्टरमा हालेर बगैचामा पुग्छन्। दिनभरी टिपेको आँप क्रेटमा प्याक गर्ने र पिकपमा हालेर देशका विभिन्न शहरमा पठाउन व्यस्त छन्। जेठको पहिलो हप्तादेखि नै उनको दिनचर्या यहि छ।

aanp2

‘सुरुमा बम्बै जातको आँप टिपियो अहिले माल्दह टिप्ने काम भईरहेको छ;’ पूर्वेले भने, ‘अरुवेला पनि बगैचाँ स्यार्ने, सरसफाई सामान्य काम भईरहन्छ। अहिले भनेको फल टिप्ने र विक्रिगर्ने मूख्य समय हो। जेष्ठ पहलो सातादेखि नै मेरो दिनचर्या विहानै मजदुर लिएरसँगै आवश्यक सामाग्रिलिएर बगैंचा पुग्ने हो। बेलुका गाडीमा हालेर सम्वन्धित ठाउँमा पठाएपछि बल्ल फूर्सद हुन्छ।’ 

aamnp5

उनको आफ्नै गरिखाने जम्मा साडे ३ विगहा जमिन छ। उनले ती सवै जग्गामा आँपका बोट लगाएका छन्। छिमेकका बगैचाहरुपनि ठेक्कामा लिएका छन्। थोरैबाट सूरुगरेको व्यसायीक आँप खेति अहिले आफ्नोसहित ५० वटा बगैंचा छ।

लगानी र मेहत कम तर राम्रो आम्दानी दिनेभएपछि पूर्वेले आफ्ना सवै जमिनमा आँप लगाएको बताए। उनले भने, ‘आकाशे पानीको भरमा धान, गहुँ गर्दा मजदुर, विउ, मल, खनजोतमा धेरै खर्च हुन्छ, कहिलेकाही खर्चपनि असुलि हुँदैन; आँपमा लगानी र मेहनत कमलाग्ने तर आम्दानी राम्रो दिनेभएपछि यतितिर लागियो।’

aanp3

गोलबजार १ बरडाँडाका अर्का किसान ४५ वर्षिय विनोद यादवको दिनचर्या पनि हिजोआज उस्तै छ। विहानै उठ्ने अन्य कृषिकर्मसँगै आँप बगैचामा जाने र आँप टिपेर बजारसम्म पुर्याउने। यादवले आफ्नो ६ विगहा खेतियोग्य जमिन मध्ये ३ विगहा जमिनमा आँपको बगैंचा लगाएका छन्। 

राम्रो आम्दानी दिने, अन्य वालिको तुलनामा कम मेहनत लाग्ने भएकाले पनि आँप खेतिप्रति आर्षित भएको यादवले बताए। उनले भने, ‘वर्षमा एक देखि दुई पटकसम्म बगैंचा जोत्ने र सरसफाई गरे पुगिहाल्छ। अन्य खेतिमा प्रत्यक वर्ष रोपाईं गर्दा जोतकोड गर्दा लाग्ने मजदुर, मल र विउमै धेरै लगानी लाग्छ, त्यसैले आँप खेति नै विस्तार गर्दै छु।’

आँपखेतिलाई अझ सवल बनाउन सकिए थप आम्दानी लिन सक्ने किसनको कथन छ। एकै सिजनमा पाक्ने र सकाउनु पर्ने बाध्यता भएकाले किसानले भनेजस्तो मूल्य पाउन सकिरहेका छैनन्। बढी भएकोबेला चिस्यान केन्द्रमा राखेर विस्तारै बेच्न सकिए किसानले थप फाईदा लिन सक्ने अर्का किसान गोलबजार नगरपालिका २ का रामकुमार महतोले बताए। उनले भने, ‘अव गर्मि र पानी पर्ने गर्नथालेपछि आँप पाक्ने क्रम ह्वात्तै बढ्छ, सहि समयमा टिपेर बजार पुर्याउन सकिएन भने सवै कुहिएर जान्छ। जसका कारण एकैपटक बजारको माँगभन्दा धेरै आँप थुप्रिदा मुल्य पाइँदैन। आँप लामोसमयसम्म टिकाई राख्न व्यवस्थित चिस्यान केन्द्र आवश्यक छ।’

चिस्यान केन्द्र निमार्णमा ठूलो लगानी लाग्ने भएकाले किसानको बुताले नभ्याउन मुस्की छ। चिस्यान केन्द्र निर्माणको काम सरकारी स्तरबाट गरिनुपर्ने किसानहरुको माँग छ। सरकारले आँपखेती गर्ने व्यावसायिक किसानकालागि चिस्यान केन्द्र, प्रशोधन कारखाना र निर्यातमा सहजीकरण गरिदिनुपर्ने माँग गरेका छन्। 

उत्पादन भएपनि मूल्य र बजार अभाव खेप्दै आएका यहाँका आँप किसान तथा व्यसायीहरु आँपमा लाग्ने रोग, किराहरुबाट पनि हैरान छन्। ठूलो परिमाणमा आँप उत्पादन गरे पनि पाक्ने बेलामा लाग्ने लाग्ने रोग, किरा निवारणको उचित उपाय अपनाउन नसक्दा किसान मर्कामा परेका छन्। 

आँप किसान गुरुदेव पूर्वेले भने, ‘पाक्न लागेको आँपमा विषादी लाउन पनि नमिलेन, तर यही वेला विभिन्न थरिका किराको प्रकोपले आँप कुहिने गरेको छ। यस्तो वेलामा आँपको फल संरक्षण गर्ने विषयमा सरोकारवालको उचित सुझाव र निवारण विधिको खाँचो छ।’

आँपको उत्पादनमा कमी आएपनि वर्षेणी बढ्दो क्षेत्रफल र अस्थिर बजारका कारण किसानले आँपको उचित मूल्य पाउन सकेको छैन। अहिले बजारमा काँचो आँप ४०–५० रुपैयाँ प्रति केजी विकेपनि पाकेको आँप २० रुपैयाँ प्रतिकेजीसम्म विक्रि हुने गरेको छ। 

मधेशमा विशेष गरेर बम्बई, माल्दह, कृष्णभोग, अम्रपालि, दशहरी, कलकतिया र जर्दा जातका आँपहरु उत्पादन हुने गरेको छ। 

सिरहामा मात्र ९ हजार ५० हेक्टर क्षेत्रफलमा आँप खेति हुने गरेको छ। जो निरन्तर बृद्धि भईरहेको छ। सिरहामा कुल ७२ हजार ३०० हेक्टर खेतियोग्य जमिन छ।

यो वर्ष सिरहामा प्रति हेक्टर ८ मेट्रिक टनका दरले कुल ७२ हजार ४०० मेट्रिक टक आँप उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सिरहाका सूचना अधिकारी सुदिप खनालले जानकारी दिए। गत वर्षको तुलनामा यस वर्ष कम आँप फलेको ज्ञान केन्द्रले बताएको छ। गत वर्ष प्रति हेक्टर ११ मेष्ट्रिक टनभन्दा बढी उत्पादन भएको थियो।

फलको राजा आँप, आँपको पनि राजा मालदहलाई मानिन्छ। हरेक घरको आँगन, बगैँचाको कुना र बजारको छेउमा बगिरहेको आँपको सुगन्ध सिरहाको पहिचान हो। हावामा घुलिएको त्यो सुगन्ध, जुन स्वादमा बदलिन्छ। यही स्वाद अब व्यवसाय, रोजगारी र आत्मनिर्भरताको माध्यम बनेको छ। आँप खेतिको प्रवर्धन, विस्तार र विकासमा सरोकारबाला निकायको ध्यान जान आवश्यक छ।

shuba shree