- आशिष विश्वकर्मा
सिरहा, १५ असार। साथीसङ्गीसँग रमाउँदै खेल्ने अनि पढ्ने उमेरका बालबालिका दुव्र्यसनी बाबुको कारणले आमाले पनि छोडेर हिंडेपछि बिचल्लीमा परेका छन्।

लागूऔषधको दुव्र्यसनमा फसेका बाबुको शारीरक तथा मानसिक यातना खेप्न नसकेपछि आमाले पनि दोसो विवाह गरेर हिंडेसँगै सिरहाको गोलबजार नगरपालिका ९ डण्डाका करिब ८ वर्षीय नाबालक शेकर यादव आफ्ना स–साना भाई बहिनीको अभिभावक बन्न बाध्य छन्। बाबु आमाको माया अनि छत्रछायाँमा देल्खै पढ्ने उमेरका उनी पाँच र तीन वर्षीया बहिनीहरुलाई बोकेर विद्यालय ओहोरदोहोर गरिरहेका छन्।

काँधमा किताबको झोला बोकेर आफ्नै उमेरका साथीहरुसँग विद्यालय जानु पर्ने उमेरका शेखर पिठ्युँमा तीन वर्षीया बहिनी दिव्यांशीलाई बोकेर अर्की बहिनी सोनाक्षीलाई डोर्याउँदै गाउँदेखि करिब एक किलोमिटरको दूरीमा रहेको विद्यालय जाने गरिरहेका छन्। गोलबजार नगरपालिका ९ डण्डास्थित जनता माध्यमिक विद्यालयमा कक्षा ३ मा पढिरहेका शेखरका बहिनीहरु सोनाक्षी र दिव्यांशी क्रमशः कक्षा १ र बाल विकासमा पढिरहेको विद्यालयका शिक्षक प्रमोद सिंहले बताए।

स्थानीयका अनुसार लागूऔषध दुव्र्यसनी बुबाको सास्ती सहन नसकेर करिब दुई वर्षअघि आमाले छोडेर हिंडेपछि तीन बालबालिकाले अभिभावकविहीन भएका हुन्। उनकी आमा सञ्जु कुमारी यादव धनुषाका एक युवासँग हिंडिन् भन्नेसम्म स्थानीय बताउँछन्। बुबा विमल यादव पछिल्ला दिनमा झापाको एक प्लाइउड उद्योगमा काम गर्ने गरेको भनिएपनि पछिल्लो दुई महिनाभन्दा लामो समयदेखि घरमा नआएको र फोन सम्पर्क समेत नभएको शेखरले सुनाए।

आमा बुबा हुवै जीवितै भएपनि आफूहरुको साथ नहुँदा तीन दाजुबहिनी टुहुरा जसरी घरमा बसिरहेका छन्। अभिभावकविहीन बालबालिकालाई बिहान बेलुकाको खाना भने ठूलोबाबु कमल यादवले खुवाइरहेका छन्। बस्ने झुपडी र घडेरीबाहेक केही नरहेका बालापनको कारणले उनीहरूको व्यक्तिगत सरसफाइ गर्न नसक्दा बस्ने घरका कोठाहरु परैबाट गन्हाउन थालेको छिमेकीहरु सुनाउँछन्।
प्रायः हरेक दिन बिहान ६ बजेतिर उठेपछि शेखरले बहिनीहरूलाई उठाएसँगै बिहानको नित्यकर्म गराएपछि आफू तयार भएसँगै तीन वर्षीया बहिनी दिव्यांशीलाई पिठ्युँमा बोकेर अर्की बहिनी सोनाक्षीको हात समातेर विद्यालयतर्फ जान्छन्। विद्यालय नपुग्दासम्म उनी दाजु मात्र होइनन्, बाबुआमासँगै संरक्षक र सहारा बनिरहेका छन्। विद्यालय छुटेपछि पनि पुनः सानी बहिनीलाई पिठ्युँमा बोकेर, अर्कीको हात समाउँदै शेखर घर फर्किन्छन्।
‘बहिनीहरूलाई नुहाउने, लुगा धुने र स्याहार्ने काम पनि मैले नै गर्दै आएको छु’ शेखरले भने। अन्यका लागि सामान्य लाग्ने दैनिकी स्वयम् एउटा नाबालकका लागि कति गह्रौं जिम्मेवारी हो भन्ने कुरा उमेरको कारणले उनले पनि बुझ्न सकेका छैनन्। अभिभावकको अभाव झेलिरहेका उनीहरू नातामा दाजु बहिनीसँगै एक–अर्काको सहारा समेत बनेका छन्।
नाबालकहरु पढिरहेको विद्यालयले दिंदै आएको साबुन, दिवा खाजाले पनि थोरबहुत भरथेग भइरहेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र सिंहले सुनाए। ‘मैलो आफ्नो वयक्तिगत रकम खर्चिएर उनीहरुको लाउने कपडा किनिदिने गरेको छु’ उनले भने। ‘दिवाखाजा भएकाले बिहानको खाजा विद्यालयमै खान्छन्’ विद्यालयका शिक्षक राजकुमार सिंहले भने ‘घर जानेबेला थोरै खाजा दिएर पठाउने समेत गरेका छौं।’ बालबालिकाहरुलाई थप सहयोगको आवश्यकता रहेको उनले बताए।
सामान्य आर्थिक अवस्था भएका उनकै उमेरका बहुसंख्यक बालबालिका मोवाइल, खेलौनाहरुसँग हुर्किने भएपनि र स्वयम् नाबालक शेखर आफ्ना स–साना बहिनीहरुका लागि संघर्ष गरिरहेका छन्। ‘हरेक बिहान विद्यालय जाने बाटोमा भेटिने शेखर आफ्नो पिठ्युँमा बहिनी बोकिरहेका हुन्छन्’ विद्यालयका शिक्षक समेत रहेका स्थानीय प्रमोद कुमार महतोले भने ‘त्यहाँ केवल बहिनी मात्र होइन, स्यम् कसैको सहारामा हिंड्नु पर्ने नाबालकको काँधमा एउटा परिवारको आशा, भविष्य र जीवन बाँचिरहेको संघर्षको कथा हो।’























