मणिलाल विश्वकर्मा
सिरहा, ७ असार। पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा–धनुषा जोड्ने कमला नदीमा आवागमन सहजताका लागि बनाइएको अस्थायी डाइभर्सन बाढीले क्षतिग्रस्त भएपछि आवागमन प्रभावित भएको छ। सामान ओसारपसार र आवजावत सहजताका लागि गत माघमा टेन्डरमार्फत ह्युमपाइप, क्रेटिङ र बालुवा हालेर बनाइएको अस्थायी डाइभर्सन बिहीबार साँझदेखि परेको वर्षापछि आएको बाढीले क्षतिग्रस्त भएको हो।

निर्माणाधीन पुलभन्दा करिब एक सय मिटर पूर्वतिरबाट बगेको कमलाको मूल भंगालोमा बनाइएको डाइभर्सन क्षतिग्रस्त भएपछि बर्सातमा थप समस्या हुने स्थानीय बताउँछन् । वैशाख तेस्रो साता आएको बाढीले मूल भंगालोमा बनाइएको डाइभर्सनमा क्षति नपुगे पनि पुलको दक्षिणतर्फको बालुवाको डाइभर्सन बगाउँदा पनि समस्या भएको स्थानीय बद्री यादवले बताए।
हिउँदलाई लक्षित गरी बनाइएको मूल भंगालोको डाइभर्सन बर्सातमा झिक्नैपर्ने हुलाकी राजमार्ग निर्देशनालयका साइट इन्जिनियर सूर्यनारायण मण्डलले बताए। उनका अनुसार मनसुनको बर्सात सुरु भइसकेको धनुषातर्फबाट भासिएको तेस्रो पाया भारतको दिल्लीबाट झिकाइएका प्राविधिकसहितको उपकरणमार्फत बिहीबारसम्म १।१६ मिटर उठाइएको छ। ‘बाँकी ८४ सेन्टिमिटर उठाइएपछि तल कंक्रिट हालेर फिक्स गरिनेछ,’ उनले भने, ‘पुलको पश्चिमतर्फको एप्रोच सडक निर्माणका लागि माटो भर्ने काम भइरहेको छ । त्यसबाहेक पूर्वतर्फको गटर बिमको काम पनि जारी रहेको उनले बताए।
त्यो काम सकिँदासम्म मध्यवर्षा लागिसक्ने भएकाले सम्भवतः आगामी तीन महिनासम्म फेरि डुंगाकै भर पर्नुपर्ने स्थानीयको चिन्ता छ। जिल्ला र प्रदेशबाट पटक–पटक सांसद, मन्त्री बनेका नेताहरूका कारणले सर्वसाधारणले दुःख झेलिरहेको सिराहा नगरपालिका– ६ का वडाध्यक्ष इन्द्रजित यादवले गुनासो गरे। ‘करिब १५ वर्षअघि नदीको स्वरूपअनुसारको डिजाइन गरिएको पुल अहिलेको अवस्थाअनुसार टिकाउ हुन सक्दैन भन्ने हाम्रो ठम्याइ हो,’ उनले भने, ‘कमलामा नयाँ पुल नबनाएसम्म हुँदैन, पुलको टालटुले पुनर्निर्माणले हुँदैन, दुःख पाउने जनताले नै हो।’
कमला पुलको पुनर्निर्माण सम्पन्न नहुँदा धनुषातर्फका कमला र विदेह नगरपालिका तथा जनकनन्दनी गाउँपालिकाअन्तर्गत पर्ने सघारा, टडिया, लक्कड, बडेर्वा, लगमा, पतनुका, बनरझुला, फूलबरिया तथा सिराहा नगरपालिकाअन्तर्गत बसबिट्टा, बडेर्वा, मानपुर, खरसलवाका बासिन्दालाई वस्तुभाउ चराउन, घाँसपात गर्न, दैनिक किनमेल, हाटबजार, आर्थिक कारोबारका लागि ठुलो कष्ट भइरहेको स्थानीय शिवराम यादवले गुनासो गरे।
गत ५ मंसिरमा स्थलगत अनुगमनमा आएका तत्कालीन भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले कमला पुलको बारेमा प्राविधिक, व्यवस्थापकीय र ठेकेदार कसको कारणले समस्या भएको भन्ने खोजी गरिने बताएका थिए । त्यसलगत्तै हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले पुलको पुनर्निर्माण नहुन्जेल आवागमन सहजताका लागि अस्थायी डाइभर्सन बनाएको थियो।
क्षतिग्रस्त पुलको सुस्त पुनर्निर्माण
हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माणका लागि ३१ जेठ ०६८ मा पप्पु लुम्बिनी जेभीले भ्याटसहित २४ करोड ९० लाख ९७ हजार दुई सय रुपैयाँमा ठेक्का लिएको थियो। सम्झौताअनुसार ०७१ मंसिरमा निर्माण सम्पन्न हुनुपर्ने पुल तोकिएको समयमा नबनेपछि गत असारसम्मका लागि आठौँपटक म्याद थपिएको थियो । कमलामा पुल नहुँदा करिब ३० किलोमिटर दूरीमा रहेको प्रादेशिक राजधानी जनकपुरधाम पुग्न बर्सातको वेला पूर्व–पश्चिम लोकमार्गको ढल्केबर हुँदै करिब ९० किलोमिटर दूरी छिचोल्नुपर्ने बाध्यता छ।






















