जीवछ यादव
लहान, २८ जेठ। लहान नगरपालिकाका शिक्षक विद्यार्थी साक्षरता अभियाका लागि सक्रिय भएका छन्। पालिकाको २४ वडा मध्ये साक्षर घोषणा हुन बाँकी नौ वटा वडाको साक्षरता अभियानमा यहाँका शिक्षक विद्यार्थी लागेका हुन्।
वडाको हिसाबले नेपालकै सबैभन्दा ठुलो नगरपालिका भए पनि हालसम्म साक्षर घोषणा हुन बाँकी रहेका वडाका निरक्षर नागरिकलाई साक्षर बनाउन माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का छात्रछात्रालाई अभियानमा परिचालन गरिएको छ। दलित तथा विपन्न समुदायको जनघनत्व भएका वडाहरू साक्षर घोषणा हुन बाँकी रहेका छन्।
नगरपालिकाको कार्यालय रहेको वडा नम्वर १० स्थित श्री जनता माध्यमिक विद्यालय, बैरियाँ गुदीगाउँका ४० जना विद्यार्थी र दुई जना शिक्षकलाई विद्यालय क्षेत्रभित्रका दलित तथा विपन्न बस्तीमा साक्षरता अभियान सञ्चालन गर्न खटाइएको विद्यालयका प्रधानाध्यापक देवनलाल ठाकुरले बताए।

पूर्ण साक्षरताका लागि निर्धारित १२ वटा सूचकमध्ये वर्ण तथा अक्षर चिन्न सक्ने, शून्यदेखि नौसम्मका अङ्क चिन्न सक्ने, शून्यदेखि एक सयसम्मका अंक लेख्न र पढ्न सक्ने, मोबाइल र क्याल्कुलेटर प्रयोग गर्न सक्ने, मूल्यसूची र बिल बुझ्न सक्ने, साइनबोर्ड, पोस्टर तथा ट्राफिक सङ्केत पहिचान गर्न सक्ने, भित्तेपात्रो प्रयोग गर्न सक्ने, बैंक भौचर तथा चेक प्रयोग गर्न सक्ने र सामुदायिक सहभागितामा सक्रिय हुन सक्ने जस्ता सीप आवश्यक मानिएका छन्।
विद्यालय क्षेत्रभित्रका गाउँ–टोलमा शिक्षक तथा विद्यार्थीलाई साक्षरता अभियानमा परिचालन गर्दा सामाजिक शिक्षाको परियोजना कार्यसमेत हुने र विद्यार्थीहरूले आफ्नै घरका हजुरबुबा–हजुरआमालाई पनि साक्षर बनाउन सक्ने भएकाले वडा नम्वर १० बाट अभियान सुरु गरिएको लहान नगरपालिका शिक्षा शाखाका प्रमुख अमिरी यादवले बताए।
साक्षरता अभियानमा सहभागी वडा नम्प १० का ७० वर्षीय छोटेलाल पासवानले आफ्नै नाति–नातिनी विद्यालयको पोसाकमा अक्षर चिनाउन र नाम लेख्न सिकाउन आएको देखेर खुसी व्यक्त गरे। उनले भने, ‘१५ वर्षको उमेरदेखि घर निर्माण तथा राजमिस्त्रीको काम गर्दै सिरहा सदरमुकामका धेरै कार्यालय निर्माण गरेँ। तर आफ्नै नाममा हस्ताक्षर गर्न नसक्ने पीडा थियो। अहिले आफ्नै नाति–नातिनीले सिकाउन आएका छन्। निरक्षर भएर मर्नु हुँदैन भन्ने मेरो चाहना अब पूरा हुने भयो।’
अभियानमा खटिएका कक्षा ९ की अन्तरा विसुन्के र कक्षा १० की नीलम पासवानका अनुसार ६०–७० वर्ष उमेर समूहका कतिपय हजुरबुबा–हजुरआमाले ‘अब यो उमेरमा के सिक्नु?’ भन्दै सुरुमा अस्वीकार गरे पनि सम्झाइबुझाइ गरेपछि नाम लेख्न सिक्न थालेका छन्।
साक्षरता अभियानमा खटिएका शिक्षक शिवकुमार गुप्ता र गौरीशंकर यादवले विद्यालय क्षेत्रभित्र पर्ने धनछवार, असनाहा र गुदीगाउँमा दलित समुदायका अधिकांश वृद्धवृद्धा अझै निरक्षर रहेको बताए।
२०७८ सालको जनगणनाअनुसार लहान नगरपालिकाको साक्षरता दर ६९.१५ प्रतिशत रहेको छ। नगरपालिकाको कुल जनसंख्या एक लाख दुई हजार ३१ रहेको छ।





















