शारदा पोखरेल
बारा, २७ जेठ। जीतपुरसिमरा उपमहानगरपालिकाले मापदण्डविपरीत सञ्चालनमा रहेका संस्थागत (निजी) विद्यालयहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। उपमहानगरले प्राथमिक र आधारभूत तहको कक्षा सञ्चालन अनुमति लिएर निम्न माध्यमिक र माध्यमिक तहका कक्षा सञ्चालन गरिरहेका विद्यालयहरूलाई कारबाहीको दायरामा ल्याएको हो।
सोमवार एक सूचना जारी गर्दै उपमहानगरले मापदण्डविपरीत कक्षा सञ्चालन गर्ने ८ वटा विद्यालयको अनुमति खारेज मुद्दासम्मको चेतावनी दिएको छ । चेतावनी दिइएका विद्यालयहरूमा वडा नं. १७ स्थित एड्भान्स इङ्ग्लिस बोर्डिङ स्कुल, वडा नं. १८ को मिसन एकेडेमी उचिडी र डुमरवाना पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुल रजघट्टा, वडा नं. ७ स्थित अम्ब्रेला एकेडेमी, वडा नं १ को न्यू होराइजन, अमलेखगञ्जस्थित नाइट एञ्जल, लिटल एञ्जल र वडा नं.२२ चकरीस्थित आदर्श किड्स ल्यान्ड स्कुल रहेका छन्।
यी विद्यालयहरूले पालिकाबाट स्वीकृत अनुमतिभन्दा माथिल्लो कक्षामा पठनपाठन गराएको, अभिभावकलाई भ्रममा पारी भर्ना गराएको र एउटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अर्को विद्यालयबाट परीक्षा फारम भराई परीक्षामा सहभागी गराएको पाइएकाले अनुमति खारेजसम्मको चेतावनी दिइएको उपमहानगरले जनाएको छ। उपमहानगरको शिक्षा महाशाखाले स्वीकृत प्राप्त कक्षामा मात्र विद्यार्थी भर्ना र पठनपाठन गराउन विद्यालयहरूलाई निर्देशन दिएको छ।
यसअघि जेठ १९ गते बसेको नगर शिक्षा समितिको बैठकले नियमविपरीत सञ्चालनमा रहेका ४ वटा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको थियो। बन्द गरिएका विद्यालयहरूमा वडा नं. १ स्थित माउन्ट एभरेष्ट, वडा नं. ३ स्थित रोज एकेडेमी, वडा नं. ७ स्थित अम्ब्रेला अंग्रेजी बोर्डिङ स्कुल र वडा नं. १९ स्थित बाबुलाल एकेडेमी रहेका छन्। उपमहानगरपालिकाले यी विद्यालयहरूमा विद्यार्थी भर्ना नगराउन अभिभावकहरूलाई समेत अनुरोध गरेको छ।
यीमध्ये माउन्ट एभरेष्टले कक्षा १२, रोज र अम्ब्रेलाले कक्षा ५ तथा बाबुलाल एकेडेमीले कक्षा ३ सम्मको मात्र अनुमति पाएका थिए। अनुमतिभन्दा फरक ढंगले सञ्चालन भएकाले यी विद्यालयले अब कक्षा सञ्चालन गर्न पाउने छैनन्।
शैक्षिक सत्र सुरु भइसकेपछि विद्यालय बन्द गराउने उपमहानगरको यस निर्णयलाई स्थानीय स्तरमा चासोका साथ हेरिएको छ। सिमरास्थित न्यू होराइजन इङ्ग्लिस स्कुलका संस्थापक सञ्चालक अभिषेक राजनले आफ्नो विद्यालय सञ्चालनको अनुमति प्रक्रियामै रहेकाले तत्कालका लागि कारबाही प्रक्रिया अगाडि नबढाउन अनुरोध गरेका छन्। 'हामी आफैँ अरूलाई नियम–कानुन पालना गर्न सिकाउँछौँ, त्यसैले उपमहानगरको निर्णयविरुद्ध जाने कुरा आउँदैन,ू उनले भने, ूहामी प्रक्रियामा रहेकाले केही समय थप गरिदिन मात्र अनुरोध गरेका हौँ।'
प्राथमिक र आधारभूत तहको अनुमति लिएर निम्न माध्यमिक र माध्यमिक तह सञ्चालन गर्ने विद्यालयहरूले विद्यार्थीलाई परीक्षा भने अन्य विद्यालयको नामबाट दिलाउने गरेका थिए।
उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत हरिश भट्टले बन्द गरिएका विद्यालयका विद्यार्थीहरूको भविष्य अन्योलमा नपर्ने स्पष्ट पारेका छन्। माउन्ट एभरेष्टबाहेक अन्य तीन विद्यालयका विद्यार्थीलाई यसअघि नै छिमेकी विद्यालयहरूमा स्थानान्तरण गरिसकिएको जानकारी दिँदै भट्टले माउन्ट एभरेष्टका विद्यार्थीलाई पनि अर्को विद्यालयमा सार्न उपमहानगरपालिकाले आवश्यक सहजीकरण गर्ने बताए।
'विद्यार्थीहरूको शैक्षिक निरन्तरताको जिम्मेवारी उपमहानगरपालिकाले लिन्छ। विद्यार्थीहरू अलपत्र परेका भन्ने कुरामा सत्यता छैन,' अधिकृत भट्टले भने, 'यस विषयमा कुनै पनि भ्रममा नपर्न म अनुरोध गर्दछु।'
किन बन्द गरिए विद्यालय?
शिक्षा अधिकृत भट्टका अनुसार मापदण्डविपरीत र एउटै भवनमा दुई वटा विद्यालय सञ्चालन गरेको पाइएकाले ती विद्यालयहरू बन्द गरिएका हुन्। अनुमति लिएको स्थानभन्दा अन्यत्र लगेर विद्यालय सञ्चालन गरेको समेत पाइएको उनको भनाइ छ।
जीतपुरसिमरा वडा नं १ ठेगाना रहेको माउन्ट एभरेष्ट स्कुल हाल वडा नं २१ अमलेखगञ्जमा सञ्चालित छ। सोही भवनमा विद्यालयका सञ्चालकले 'नाइट एञ्जल' नामक अर्को निजी विद्यालयसमेत सञ्चालन गरिरहेका छन्। एउटै भवनमा दुई वटा विद्यालय सञ्चालन नगर्न पटक–पटक सचेत गराउँदा समेत बेवास्ता गरिएपछि विद्यालय बन्द गरिएको भट्टले जानकारी दिए।
यसैगरी रोज एकेडेमीका सञ्चालकले 'न्यू एकता' नामक विद्यालय सञ्चालनमा ल्याएका थिए। रोज र न्यू एकता पनि एउटै भवनमा सञ्चालन भएकाले एउटा विद्यालय बन्द गरिएको हो। त्यस्तै, बाबुलाल एकेडेमीका सञ्चालकले 'मिडल्यान्ड एकेडेमी' र अम्ब्रेला एकेडेमीका सञ्चालकले सोही नामको अर्को विद्यालय सञ्चालनमा ल्याएका थिए। एउटै भवनमा दुई विद्यालय सञ्चालन गर्न नमिल्ने कानुनी प्रावधानका कारण ती विद्यालय बन्द गरिएको शिक्षा शाखाले जनाएको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाभित्र हाल ४६ वटा संस्थागत विद्यालयहरू सञ्चालनमा छन्। उपमहानगरले पछिल्लो समय निजी विद्यालयहरूको नियमनमा कडाइ गर्दै आएको छ। यसै शैक्षिक सत्रदेखि उपमहानगरले संस्थागत विद्यालयहरूको शुल्क निर्धारण गर्नुका साथै अनलाइन आवेदनमार्फत छात्रवृत्ति छनोट परीक्षा समेत सञ्चालन गरेको थियो।





















