विनय आजाद

सिरहा, १७ जेठ। विभिन्न ग्रुप तथा ग्याङका नाममा समाजमा आतंक मच्चाउन खोज्ने २५ जनालाई २१ थान मोटरसाइकलसहित सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार सिरहा(चोहर्वा सडकमा विशेष अपरेसन चलाएर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

shuva shree school

प्रहरीका अनुसार उनीहरूले किङ अफ बलान, किङ अफ भगवानपुर, किङ अफ लहान, किलर्स ब्रदरलगायतका ग्याङका नाममा टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालमा अकाउन्ट र ग्रुप बनाई आतंकित पार्ने, गालीगलौज र धम्कीयुक्त भिडियो पोष्ट गर्ने गर्दै आएका थिए।

यस्तै, उनीहरूले बिना हेल्मेट र बिना नम्बर प्लेटका मोटरसाइकलसहित पनि भिडियो बनाउने गरेका थिए। उनीहरूले समाजमा शान्ति सुरक्षा भंग गर्ने खालको व्यवहार प्रदर्शन गर्दै आएको र आपराधिक कार्यमा समेत संलग्न हुन सक्ने आकलनसहित प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो।

यसैक्रममा आइतबार एउटै मोटरसाइकलमा तीन(चार जनासम्म सवार भई ट्राफिक नियम उल्लंघन गर्दै सामूहिक रूपमा सिरहा सदरमुकामतिर जाने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए।

जसमा सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना र भगवानपुर गाउँपालिकाका ५ जना गरी २५ जना युवक तथा उनीहरू सवार भएर आएका २१ थान मोटरसाइकल रहेको डीएसपी पालले बताए।

उनीहरूको मोबाइलसमेत नियन्त्रणमा लिई चेकजाँच तथा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरू अधिकांश लागूऔषध सेवनकर्ता रहेकोे र सुरक्षा व्यवस्थालाई चुनौती दिने कार्य गर्दै आएको पाइएको छ। 

प्रहरीले उनीहरूको नेतृत्व गर्ने अन्य व्यक्तिको पनि खोजी गरिरहेको छ। जिल्लामा सक्रिय यस्ता अन्य ग्याङ तथा समूहमाथि समेत निगरानी बढाइएको भन्दै प्रहरीले समाजमा आतंक मच्याउन खोज्ने यस्ता व्यक्तिबारे सूचना दिनसमेत जनसाधारणलाई आग्रह गरेको छ।