जनकपुरधाम, १५ जेठ। धनुषाको बटेश्वर गाउँपालिकाले संघीय सरकारको दुई दिने सार्वजनिक बिदासम्बन्धी निर्णय कार्यान्वयन नगर्ने भएको छ। गाउँपालिकाले बुधबार सूचना जारी गर्दै आफ्ना मातहतका कार्यालय तथा विद्यालयहरू आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सञ्चालन गर्ने जनाएको हो।
कार्यापालिकाले जेठ १२ गते गरेको निर्णयका आधारमा पालिका मातहतका सबै शाखा, उपशाखा, स्वास्थ्य संस्था, वडा कार्यालय तथा विद्यालयहरू जेठ १७ गतेदेखि अर्को निर्णय नभएसम्म साविककै कार्यतालिकाअनुसार सञ्चालन हुने सूचना जारी गरेको छ।
गाउँपालिका अध्यक्ष रामआशीष महतोका अनुसार पालिकामा कामको चाप बढेको, विद्यालयहरूले समयमा पाठ्यक्रम पूरा गर्न नसकेको गुनासो आएको तथा दुई दिनको बिदाले सेवाग्राहीलाई समस्या परेको कारण यस्तो निर्णय लिनुपरेको उल्लेख गरेको छ। पालिकाको बजेट खर्च तथा प्रशासनिक कामकाजमा समेत असर परेकोले साविककै कार्यतालिका कायम गर्नुपरेको उल्लेख गरे।
अध्यक्ष महतोका अनुसार प्रारम्भमा यो अभ्यास दुई महिनासम्म लागू गरिने र आवश्यक परे निरन्तरता दिन सकिनेछ।
जारी सूचनामा आईबार देखि विहिवारसम्म विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र शुक्रवार विहान १० बजेदेखि ३ बजेसम्म कार्यालय सञ्चालन गर्ने उल्लेख गरिएको छ।























