गोलबजार, १४ जेठ। सिराहाको गोलबजारस्थित शुभ श्री अङ्ग्रेजी आवासीय विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल एक छात्रलाई सम्मानसहित नगद पुरस्कार प्रदान गरेको छ। गोलबजार नगरपालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल छात्र अंशराज योञ्जनलाई विशेष कार्यक्रमको आयोजनागरी ५० हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको हो। उनले ‘४ जीपीए’ ल्याएर गौरवमय सफलता प्राप्त गरेको विद्यालयले जनाएको छ।
यस वर्षको एसईई परीक्षामा उक्त विद्यालयबाट सहभागी भएका कुल ३० जना विद्यार्थीमध्ये सबैजनाले उत्कृष्ट अङ्कका साथ उत्तीर्ण भएका छन्। जसमध्ये १० जना विद्यार्थीले ‘ए प्लस’, १८ जनाले ‘ए’ र १ जनाले ‘बी प्लस’ ग्रेड हासिल गरेका छन्।
नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा ल्याउने छात्र अंशराज योञ्जनलाई कार्यक्रममा नगद ५० हजार रुपैयाँसहित विशेष सम्मान गरिएको छ। विद्यालयले विद्यार्थीका हौसलाको लागि यसवर्षबाट उक्त पुरस्कारको स्थापना गरेको जनाएको छ।
विद्यालयका प्रिन्सिपल श्याम कुमार लामाको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा शिक्षाप्रेमीहरूको बाक्लो उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि गोलबजार नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नम्बर ६ का वडा अध्यक्ष सञ्जित लामा, विशिष्ट अतिथिहरू वडा नम्बर ३ का वडा अध्यक्ष धनप्रसाद लामा र वडा नम्बर १० का वडा अध्यक्ष उपेन्द्र मुखियाको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सञ्जित लामाले शुभ श्री विद्यालयले नगरकै गौरव बढाएको उल्लेख गर्दै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र मिहिनेती शिक्षक टोलीलाई बधाई दिए। उनले भविष्यमा अझ मेहत र लगनका साथ शिक्षक र विद्यार्थीले पढाईलाई उत्कृष्ट बनाउने विश्वास व्यक्त गरे।
विद्यालयका प्रिन्सिपल श्याम कुमार लामाले विद्यार्थीहरूको कडा परिश्रम, अभिभावकको विश्वास र शिक्षकहरूको सही मार्गनिर्देशनका कारण यो ऐतिहासिक सफलता सम्भव भएको बताए।
समारोहमा उत्कृष्ट ग्रेड ल्याउने अन्य विद्यार्थीहरूलाई पनि दोसल्ला र प्रशंसापत्रद्वारा सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो।






















