काठमाडौं, ५जेठ। जेनजी मुभमेन्ट नेपालले प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गरी कार्वाही गर्न माँग गरेको छ। भदौ २४, २०८२ मा सिंहदरबार तथा संसद् भवनमा भएको आगजनी र तोडफोड घटनामा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माँग गरेको हो।

मुभमेन्टका प्रवक्ता विजय शाहले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भिडियो तथा तस्बिरहरूमा सांसद कार्की स्वयम् संसद् भवन परिसरमा आगजनीमा संलग्न भएको देखिएको छ। उनले उक्त घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको र संलग्नताको संकेत दिएका थिएको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘राज्यको प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि गरिएको यस्तो हमला सामान्य राजनीतिक गतिविधि नभई गम्भीर फौजदारी अपराध हो।’
सांसद कार्कीमाथि हालै एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप पनि सार्वजनिक भएको छ। साथै संसद् बैठकमा सभामुखले पटक–पटक नाम बोलाउँदा पनि उनी अनुपस्थित रहेको विषयले उनको जिम्मेवारी र आचरणमाथि समेत प्रश्न उठाएको विज्ञप्तीमा उल्लेख गरेको छ।
कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट मोरङ २ बाट प्रतिनिधीसभा सदस्य निर्वाचित भएका हुन्।
























