• नवीन प्रियदर्शी

जनकपुरधाम, २८ बैशाख। धनुषाको जनकपुरधाम उपमहानगरपालिका २०, रुपैठाका ७८ वर्षीय पुनित भण्डारी छ पिँढीदेखि चल्दै आएको पुर्ख्यौली पेसा फूलखेतीलाई आजसम्म निरन्तरता दिइरहेका छन्। 

उमेरले वृद्ध भए पनि उनको मेहनत र लगाव अझै उस्तै छ। बिहान सबेरै खेतमा पुग्ने र बेलुकासम्म फूलखेतीमै व्यस्त रहने पुनितका लागि यो खेती केवल आम्दानीको माध्यम मात्र होइन, पुर्खाको नासो पनि हो।

उनका पाँच छोरा छन्। चार जना अन्य पेसा र व्यवसायमा लागेका छन् भने कान्छा छोरा लक्ष्मी भण्डारीले बुबाको बाटो पछ्याउँदै फूलखेतीलाई निरन्तरता दिइरहेका छन्। लक्ष्मी अहिले तीन सन्तानको जिम्मेवारी यही खेतीको आम्दानीबाट उठाइरहेका छन्।

लक्ष्मी भन्छन्, ‘एसएलसी पास गरेपछि केही वर्ष विदेश गएँ। तर, विदेशको कमाइले मन सन्तुष्ट भएन। आफ्नै गाउँ-समाज र माटोमा फर्किएर पुर्खाको पेसा अँगाल्दा छुट्टै अपनत्व महसुस भयो।’

ful kheti (1)

उनका अनुसार फूलखेती उनीहरूको परिवारको मात्र नभई समग्र माली समुदायको पहिचानसँग जोडिएको पेसा हो। मिथिलाञ्चल क्षेत्रमा माली समुदायले उत्पादन गरेको फूललाई धार्मिक रूपमा अत्यन्त पवित्र मानिन्छ। विवाह, मुण्डन, व्रतबन्ध, श्राद्ध, पूजापाठ र विभिन्न चाडपर्वमा मालीकै हातबाट उनेको फूलको माला प्रयोग गर्ने परम्परा अहिले पनि कायम छ।

पुनित भण्डारी भन्छन्, ‘हाम्रा बाजे-बराजुले यही काम गर्दै आए। अहिले हामी पनि यही पेसामा छौँ। यो हाम्रो जीवन र संस्कारसँग जोडिएको कर्म हो।’

लक्ष्मी अहिले डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन्। उनी बिहान पाँच घण्टा र साँझ चार घण्टा खेतमै खटिन्छन्। खेतीमा हप्तामा दुईपटक मल हाल्ने, झार उखेल्ने, फूल मिलाउने र बिरुवाको हेरचाह गर्ने काम नियमित गर्नुपर्छ।

‘फूलखेती सजिलो छैन, धान वा तरकारी खेतीभन्दा धेरै मेहनत लाग्छ,’ लक्ष्मी भन्छन्, ‘मौसम, सिँचाइ, मल, मजदुर र सुरक्षा सबैको उचित व्यवस्थापन गर्नुपर्छ। थोरै मात्र ध्यान नपुग्दा पनि उत्पादनमा ह्रास आउँछ। घाम, पानी र हेरचाह सबै समयमै हुनुपर्छ।’

ful kheti (3)

एक सिजनमा डेढ बिघामा फूलखेती गर्न करिब साढे दुई लाख रुपैयाँ खर्च हुने उनी बताउँछन्। बिउ, मल, मजदुर, सिँचाइ र जग्गाको भाडा सबै जोड्दा लागत उच्च हुन्छ, तर आम्दानी भने अपेक्षाअनुसार छैन। एक सिजनमा बल्लतल्ल डेढदेखि दुई लाख रुपैयाँसम्म नाफा हुने उनी बताउँछन्। त्यो पनि बजार राम्रो भयो भने मात्र सम्भव छ।

लक्ष्मी गुनासो गर्छन्, ‘हामीले व्यापारीलाई एउटा माला २० देखि २५ रुपैयाँमा दिन्छौँ, तर बजारमा त्यही माला ५० देखि ८० रुपैयाँसम्ममा बिक्री हुन्छ। यसले किसानले पसिनाको मूल्य नपाइरहेको र बिचौलियाले फाइदा उठाइरहेको प्रस्ट पार्छ।’

जनकपुरधाममा दैनिक करिब १२ हजारसम्म फूलको माला बिक्री हुने गरेको अनुमान छ। विवाह, पूजापाठ, धार्मिक कार्यक्रम र चाडपर्वका कारण फूलको माग उच्च हुन्छ। तर, त्यो विशाल बजारमा स्थानीय किसानले अपेक्षित स्थान पाउन सकेका छैनन्।

कृषकहरूको एउटै स्वर छ– स्थानीय फूलले बजार नपाउनुको मुख्य कारण भारतबाट आउने सस्तो फूल हो। सीमावर्ती क्षेत्रबाट सस्तो मूल्यमा भारतीय माला भित्रिँदा स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको उनीहरू बताउँछन्।

‘हामी धेरै मेहनत गरेर फूल फुलाउँछौँ। तर, भारतबाट सस्तोमा माला आउँछ र व्यापारीहरू त्यही लैजान्छन्। कुनै कारणले भारतबाट फूल नआउँदा मात्र उनीहरू हामीकहाँ आउँछन्,’ किसानहरू भन्छन्। नेपालमा फूल आयातमा कडा भन्सार व्यवस्था नहुँदा खुला सिमानाको फाइदा उठाउँदै चोरी-निकासीमार्फत फूल र माला भित्रिने क्रम रोकिएको छैन। यसको प्रत्यक्ष मारमा स्थानीय किसान परेका छन्।

विशेषगरी वैशाखदेखि साउनसम्म र असोजदेखि मंसिर महिनामा फूलको माग अत्यधिक हुन्छ। विवाहको लगन, चाडपर्व र धार्मिक अनुष्ठानले बजार चलायमान गराउँछ। पहिला मुस्लिम समुदायमा फूलको प्रयोग कम हुने गरेको भए पनि पछिल्लो समय बिहे र जलसाहरूमा फूलको प्रयोग बढेको किसानहरू बताउँछन्। यसले समग्र माग त बढाएको छ, तर बजार स्थानीय किसानको पकडमा छैन।

लक्ष्मीका अनुसार, उनीहरूले विशेषगरी हजारी, कलकतिया, चाइना, चेरी र सेतो जातका फूलहरू लगाउने गर्छन्। फूलखेतीको प्रक्रिया निकै झन्झटिलो छ। खेत तयार गर्नुअघि पाँचपटकसम्म जोत्नुपर्छ। पर्याप्त मलखाद हालेर माटो तयार पारेपछि सिँचाइ गरी खेतलाई रोपाइँयोग्य बनाइन्छ।

बिरुवा रोपेको करिब ४० दिनपछि फूल फुल्न थाल्छ। एउटा बिरुवाले करिब छ महिनासम्म उत्पादन दिन्छ। सुरुमा फूलको आकार ठुलो हुन्छ भने समय बित्दै जाँदा आकार सानो हुँदै जान्छ।

अहिले ‘अफ-सिजन’ भएकाले किसानहरू नयाँ सिजनको तयारीमा जुटेका छन्। तर, समयमा रासायनिक मल नपाउनु, सिँचाइको अभाव र मजदुरको समस्या उनीहरूका लागि टाउको दुखाइको विषय बनेको छ।

ful kheti (4)

रुपैठा क्षेत्रमा मात्रै माली समुदायले २५ देखि ३० बिघा क्षेत्रफलमा फूलखेती गर्दै आएका छन्। यो क्षेत्र फूल उत्पादनको केन्द्र नै बन्दै गएको छ। यहाँ सबैभन्दा धेरै क्षेत्रफल करिब सात बिघामा फूलखेती गर्ने किसान राजकुमार भण्डारी हुन्। उनी आफ्ना उत्पादन काठमाडौँलगायत नेपालका अन्य प्रमुख सहरहरूमा पनि पठाउँछन्।

‘बजार त पाइन्छ, तर लागतअनुसार मुनाफा हुँदैन। मेहनत धेरै छ, कमाइ कम छ,’ राजकुमार भन्छन्। उनका अनुसार खेतीमा मजदुरको अभावले काम गर्न निकै कठिन भइरहेको छ। समयमा मजदुर नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्छ। मल र सिँचाइको समस्या पनि उस्तै छ।

साथै, सुरक्षा अर्को ठूलो चुनौती हो। खेतबाटै फूल चोरी हुने र बोटबिरुवा नष्ट गरिदिने डरले रातदिन रेखदेख गर्नुपर्ने बाध्यता छ। ‘खेती गरेर मात्र पुग्दैन, त्यसलाई जोगाउन पनि उत्तिकै पसिना बगाउनुपर्छ,’ उनी भन्छन्।

पुनित भण्डारीका अनुसार, सरकारले फूलखेतीलाई कहिल्यै प्राथमिकतामा राखेको छैन। ‘हामीले अहिलेसम्म न कुनै अनुदान पाएका छौँ, न त तालिम नै। सरकारले यो पेसाको महत्त्व बुझिदिनुपर्छ,’ उनी भन्छन्। सरकारले आधुनिक तालिम, उन्नत प्रविधि र बजारीकरणमा सहयोग गरिदिने हो भने फूलखेतीबाट राम्रो आम्दानी गर्न सकिने किसानहरूको विश्वास छ।

फूलखेती केवल जीविकोपार्जनको माध्यम मात्र होइन, यो मधेसको संस्कृति र परम्परासँग जोडिएको पेसा हो। मधेस प्रदेशका धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सर्लाही लगायतका जिल्लामा माली समुदायले अझै पनि यो पेसालाई धानिरहेका छन्। तर, व्यवस्थित बजार नहुनु, सरकारी बेवास्ता, भारतीय उत्पादनसँगको अस्वस्थ प्रतिस्पर्धा र बढ्दो उत्पादन लागतले यो पुर्ख्यौली पेसा गम्भीर सङ्कटमा परेको छ।

ful kheti (5)

‘यदि सरकारले सीमा क्षेत्रमा कडाइ गरी चोरी-निकासी रोक्ने, अनुदान र तालिमको व्यवस्था गर्ने हो भने फूलखेतीबाटै मनग्य आम्दानी गर्न सम्भव छ,’ लक्ष्मी भन्छन्, ‘हामी खेती गर्न र पसिना बगाउन तयार छौँ। तर, हाम्रो उत्पादनको सम्मान र उचित मूल्य पाउनुपर्छ।’

पुनित भण्डारीको एउटै सपना छ– आफ्ना सन्तान र आउने नयाँ पुस्ताले पनि यो पेसालाई गर्वका साथ निरन्तरता दिऊन्। तर, त्यसका लागि बजारको सुनिश्चितता, राज्यको संरक्षण र साथ अनिवार्य देखिन्छ। छ पिँढीदेखि जोगिँदै आएको यो पुर्ख्यौली पेसा अहिले दोबाटोमा छ। समयमै राज्यको ध्यान नपुग्ने हो भने माली समुदायको पहिचान बोकेको फूलखेती बिस्तारै इतिहासको पानामा सीमित हुने खतरा बढ्दै गएको छ।