सप्तरी, २६ बैशाख। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ वनरझुलाबाट चार दिनदेखि बेपत्ता एक महिला  अझै भेटिएकी छन्। बुधबार रातिदेखि सम्पर्कविहीन भएकी स्थानीय वीरेन्द्र राय (छोटु) की श्रीमती अनिता देवी राय  अझै नभेटिएकी हुन्।

shrijana school 2083

स्थानीयवासीले महिलाको हत्या गरिएको हुन सक्ने आशंका गरेका छन्। घरआँगनमा रगत देखिएकाले हत्या भएको हुन सक्ने परिवार तथा स्थानीयवासीको आशंका छ। 

अध्यक्ष ललनप्रसाद राउतले महिला नभेटिनु र घरआँगनमा रगत देखिएकाले महिलाको हत्या भएको हुन सक्ने  आशंका ब्यक्त गरे।

स्थानीयका अनुसार महिलाको घरमा यसअघि पनि खसी, बोका, चामल र गहुँ चोरी हुने घटना हुँदै आएका थिए।

छिमेकी शेखर रायका छोराको विवाहमा अधिकांश स्थानीय जन्ती गएको मौका छोपेर राति केही व्यक्तिले जबरजस्ती महिलालाई उठाएर लगेको हुन सक्ने पीडित परिवारको आशंका छ।

बेपत्ता महिलाका बाबु प्रितम रायका अनुसार महिलाका दुई छोरी छन्। जेठी छोरी सपनाको विवाह भइसकेको छ भने कान्छी छोरी १३ वर्षीया काजल पनि छिमेकीको विवाहमा जन्ती गएकी थिइन्। श्रीमान् वैदेशिक रोजगारीकामा रहेका कारण अनिता घरमा एक्लै थिए। यही मौका छोपेर कसैले उनको अपहरण गरेको हुन सक्ने उनको भनाइ छ।

स्थानीय कविता रायका अनुसार घटनाको रात घरमा बलेको चिमसमेत निभाइएको अवस्थामा भेटिएको थियो। महिलाका ससुराको निधन भइसकेको छ भने सासू छोरीसँग चितवनको नारायणघाटमा बस्दै आउनुभएको छ। अनिता कान्छी छोरीसँग बस्दै आएकी थिइन्।

घटना भएको थाहा पाउनेबित्तिकै परिवार र स्थानीयले खोजतलास गरे पनि महिलाको अवस्था अज्ञात रहेको छ। त्यसपछि प्रहरीलाई जानकारी गराइएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय राजविराज तथा इलाका प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी डम्बरबहादुर पुरीले घटनाबारे जानकारी पाएलगत्तै खोजतलास सुरु गरिएको तर हालसम्म महिला फेला नपरेको जानकारी दिए। उनका अनुसार महिलाको मोबाइल घरमै भेटिएकाले घटनाबारे थप अनुसन्धान भइरहेको छ।