धनवीर महतो
महोत्तरी, २६ बैशाख। उत्कृष्ट उखु उत्पादन गरी २०६९ सालमा पुरस्कृत भएका गौशालाका रामभजन महतोले उखुखेती छाडेका छन्। कुनै समयमा उनले उत्पादन गरेको उखु हेर्नका लागि बाह्य किसानको लहरै लाग्ने गर्दथ्यो।

समय अनुकूलको प्रतिफल, सरोकारवाला निकायको चासो अनि सुलभ रूपमा मलखाद उपलब्ध नभएकै कारण उखुखेती छाडेको उनले बताए। उनले भने, ‘मेरो मेहनेतलाई कदर गर्दै एभरेस्ट चिनी मिलले २०६९ सालमा नगद ५० हजार रुपैयाँसहित एउटा मोटरसाइकल र प्रशंसापत्रले पुरस्कृत गर्यौं। यस भेगका किसानको लागि म नमुना किसानको रूपमा उदय भएँ । मेरो सफलता देखेर नै यस भेगमा उखुखेती विस्तार भएको यियो।’
उखुखेती गर्न सिपालु महतोले पछिल्लो समय आफ्नो एक बिघा खेतमा केराखेती लगाएका छन्। उखुखेतीभन्दा बढी आम्दानी, कम मेहनेत अनि स्वेच्छाले बिक्री गरेर नगद पैसा पाउने भएपछि उनले केराखेती रोजेको बताउँछन्। आफूजस्ता अनेकौं किसानहरू उखुको विकल्प रोज्न थालेको महतोले बताए।
बर्सेनि उखुखेतीमार्फत मगन्य आम्दानी गर्दै आएका गौशाला नगरपालिका १ का कवीरमान राना अहिले ड्र्यागन फ्रुट उत्पादनमा व्यस्त छन्। उनी अधिकांश समय ड्र्यागन फ्रुटका बिरुवा स्याहारसुहारमा खर्चिंदै छन्। उनी भन्छन्, ‘यो खेतीले पक्कै पनि आर्थिक निकास दिलाउँछ। न त बेच्ने टेन्सन न त पैसाकै। जतिबेला मनलाग्यो त्यतिबेला बजारमा नगद रूपमा बिक्री भएपछि खासै समस्या नै छैन।’
गौशाला ११ भरतपुरका देवनारायण महतोले त ११ कट्ठामा ओलखेती गरेका छन्। गत वर्ष ८ कट्ठामा लगाएका ओलखेतीलाई विस्तार गरी ११ कट्ठमा पुर्याएका हुन्। देवनारायण भन्छन्, ‘ओल रोपेको ६ महिनामा बिक्रीका लागि तयार हुन्छ। यसको स्थानीय बजारमा उच्च माग रहेको छ। पछिल्लो समयमा उखु रोपाइँदेखि लिएर बिक्री गर्नुको साथै भुक्तानीको लागि पनि धेरै नै समस्या भोग्नु परेको थियो। सो समस्याबाट निराश यस भेगका सैकडौं किसान उखुखेतीबाट विस्थापित भएका हुन्।’
सुरुसुरुमा त नगदेबालीको रूपमा नै यसलाई चिनी उद्योगीले लिइरहेको उखु किसानका अगुवा नेता महाशंकर थिङले बताए। उनले भने, ‘सरकार र उद्योग ७० को दशकसम्म किसानमैत्री नै थिए। पछिल्लो समयमा सरकारको नेतृत्वकर्ताले नै किसानको माग सम्बोधन गर्न उत्सुकता नदेखाउँदा किसानहरू बर्सेनि समस्याबाट गुज्रिँदैछन्। वर्तमान समयमा नेतृत्व गर्ने निकायले यस पक्षतर्फ समयमै ध्यान दिनुपर्ने आवश्यक देखिन्छ।’
यस सम्बन्धमा उद्योगले किसानको हकमा सोचे पनि सरकारकै नीति स्पष्ट नहुँदा उखुखेती गर्ने किसानहरू अन्योलमा परेको उखु उत्पादक कृषक महासंघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताए। उनले थपे, ‘हामी अनेकौं पटक सरोकारबाला पक्षसँग वार्ता र संवाद गर्दै निकास निकाल्ने प्रयासमा हुन्छौं। तर, उनीहरूले यसतर्फ कुनै सुनुवाइ नदिँदा साधारण अर्थमा भन्दा किसानहरू प्रत्यक्ष मर्कामा पर्दै आएका छन्।’
समयअनुसारको कृषि विशेषज्ञ सेवा, बिउबिजन, मलखादलगायत सेवाहरू चिनी उद्योगले उपलब्ध गराउँदै आएको एभरेस्ट चिनी उद्योग रामनगरले जनाएको छ। उद्योगले त उखु खरिद गरेको एक हप्तामै भुक्तानी गर्ने कार्यतालिका बनाएर मिल सञ्चालन गर्र्दै आएको उद्योग प्रशासनले जनाएको छ। खासगरी सरकारी पक्षको अनुदानबापतको रकम समयमै निकासा नहुँदा र अनुदानको रकममा कटौती भएपछि यस भेगमा किसानले उखुखेतीको विकल्प सोच्न थालेको उद्योग प्रशासनको भनाइ छ।
(अन्नपूर्णापोष्टबाट)





















