सुदिप राउत
सिरहा, २५ बैशाख। धनगढीमाई नगरपालिका १० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको खोजीमा सहकारी र बजारतिर भौतारिनु पर्दैन। विगत छ महिनादेखि उहाँले आफ्नो खेतमा रासायनिक मलको सट्टा ‘गँड्यौला मल’ प्रयोग गर्न थालेको हो।

अनिताले अहिले करिब पाँच कट्ठा जमिनमा विभिन्न प्रकारका तरकारीखेती गरिरहेको छ। गँड्यौला मलको प्रयोगबाट उत्पादन निकै सन्तोषजनक भएको उनको अनुभव छ। ‘जबदेखि गँड्यौला मल सुरु गरेँ, रासायनिक मलको खोजीमा दौडिनुपरेको छैन,’ उनले खुसी हुँदै भने, ‘यसले चिस्यान बढाउनुका साथै अग्र्यानिक तरकारी उत्पादनमा पनि ठूलो सहयोग पुर्याएको छ। माटोको उर्वराशक्ति पनि बढाउँदोरहेछ।’
अनितामात्र होइन, सोही टोलकी सुगन्धादेवी सिंहले पनि गँड्यौला मलकै प्रयोगबाट खेतीपाती गरिरहेको छ। यो टोलका ११ घरपरिवारले ‘महारानी महिला कृषक समूह’ गठन गरी व्यावसायिक रूपमा गँड्यौला मल उत्पादन गरिरहेका छन्। कुल २६ जना सदस्य रहेको यस समूहका अन्य १२ घरपरिवारले गोठ सुधार गरी कम्पोष्ट मल उत्पादन गरिरहेका छन्। समूहकी कोषाध्यक्ष उर्मिला महतोका अनुसार विस्तारै वडाभरिका किसान गँड्यौला र कम्पोष्ट मलतर्फ आकर्षित हुँदै गएका छन्।
उर्मिलाका अनुसार गाईभैँसीको मलमूत्र र सड्ने झारपातलाई सङ्कलन गरी त्यसमा गँड्यौला छाडिन्छ। गँड्यौलाले ती वस्तुलाई आहाराका रूपमा खान्छन् र उनीहरूको दिसा नै मलका रूपमा प्रयोग गरिन्छ। यो मलले माटोलाई चिस्यानयुक्त बनाइराख्न मद्दत गर्छ, जुन जलवायुमैत्री कृषिका लागि उपयुक्त मानिन्छ।
किसानलाई आधुनिक र जलवायु उत्थानशील पद्धतिमा आबद्ध गराउन लहानस्थित ‘राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल’ले ‘जलवायुमैत्री गाउँ परियोजना’मार्फत सक्रिय भूमिका खेलिरहेको छ। ‘केयर नेपाल’को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित यस परियोजनाले कृषक पाठशाला सञ्चालन गर्नेदेखि आवश्यक कृषि सामग्री उपलब्ध गराउनेसम्मका कार्य गर्दै आएको छ।
परियोजनाका फिल्ड सुपरीवेक्षक रविन साहका अनुसार धनगढीमाई नगरपालिका १४ बाहेकका अन्य सबै वडामा महिला कृषक समूह गठन गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन्। यसअन्तर्गत गोठ सुधार, गँड्यौला मल उत्पादन, बोरिङ तथा फोहोरा सिँचाइ जडान, झोल मल, जैविक मल, आधुनिक चुलो प्रवर्द्धन र जलवायुमैत्री बीउबिजन वितरणजस्ता कार्यहरू प्रभावकारी रूपमा अघि बढाइएको साहले जानकारी दिए।
परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत ईश्वर थापाका अनुसार यो कार्यक्रम यहाँका धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी, भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिका गरी चार स्थानीय तह तथा सप्तरीका रुपनी र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा सञ्चालित छ। उनका अनुसार ७० प्रतिशत संस्थाको र ३० प्रतिशत किसानको लागत साझेदारीमा सञ्चालित यो कार्यक्रमले किसानमा अपनत्वको बोध गराएको छ।
थापाले भने, ‘मधेस प्रदेशमा हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्दै लैङ्गिक उत्तरदायी र जलवायु उत्थानशील कृषक समुदायको विकास गर्नु हाम्रो मुख्य उद्देश्य हो। यस अभियानले विशेषगरी कृषिमा महिलाको कार्यबोझ कम गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा प्रत्यक्ष सहयोग पुर्याउने लक्ष्य राखेको छ। साथै, माटोमा कार्बन सञ्चिति बढाएर उत्पादकत्व सुधार गर्ने र जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न सक्नेगरी किसानलाई सक्षम बनाउन हामी केन्द्रित छौँ।’
जलवायुमैत्री कृषिको महत्व बढ्दै जाँदा सरकारले पनि यसलाई विशेष प्राथमिकता दिएको छ। सरकारको ‘शासकीय सुधारका १०० कार्यसूची’मा समेत माटोमा कार्बन बढाउने विषय समेटिएको छ। विज्ञहरूका अनुसार माटोमा कार्बन बढ्दा पोषकतत्वको चुहावट कम हुने र बिरुवाको जराको फैलावट राम्रो हुने गर्छ। थोरै समयमा नाफा खोज्नेहरूका लागि यो पद्धति ढिलो लागे पनि माटोको दीर्घकालीन स्वास्थ्य र विषादीरहित उत्पादनका लागि गँड्यौला मल अहिलेको उत्तम विकल्प सावित भएको छ।





















