रौतहट, २१ बैशाख। रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया एकल महिलालाई बोक्सी भन्दै कुटपिटगरी मलमुत्र खुवाउने अमानवीय कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
कटहरिया नगरपालिका ९ डुमरिया टोलमा शनिबार भएको उक्त घटनामा संलग्न रहेको आरोपमा स्थानीय ३० वर्षीय शंकर माझीलाई प्रहरीले नियन्त्रणमा लिएका हुन्।
स्थानीय गौरी साह कलवार लगायतका व्यक्तिहरूले ती महिलालाई ‘यो बोक्सी हो, यसले मेरो नातेदारको बालकलाई बिरामी बनाइदिएको छ’ भन्दै गालीगलौज, लछारपछार र कुटपिट गरेका थिए। कुटपिटका क्रममा पीडित महिलालाई जवरजस्ती मलमुत्र समेत खुवाएर अमानवीय तथा अपमानजनक व्यवहार गरिएको प्रहरीले जनाएको छ।
घटनापछि पीडित महिलाले आइतबार इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन्। जाहेरीलगत्तै खटिएको प्रहरी टोलीले घटनामा संलग्नमध्येका माझीलाई तत्कालै नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी प्रदिप बस्यालका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ। पक्राउ परेका माझीमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।






















