सुरेश राय
सिरहा, १९ बैशाख। सिरहा र धनुषा जोड्ने निर्माणाधीन कमलाको पुल नजिक बनाइएको अस्थायी डाइभर्सन पुनस् भत्किएको छ। डाईभर्सन भत्किँदा दुई जिल्लाबीचको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ।
केही दिनअघि सामान्य वर्षाले क्षति पुर्याएको उक्त डाइभर्सन मर्मत गरी सञ्चालनमा ल्याइएको थियो। तर बिहीबार रातिदेखि परेको वर्षाका कारण शनिबार बिहान डाइभर्सन फेरि बगेको छ।

पुल क्षेत्रभन्दा करिब ३०० मिटर अगाडि बनाइएको माटो तथा बालुवाको अस्थायी बाँध बाढीले बगाएपछि सयौं सवारीसाधन बाटोमै अलपत्र परेका छन् भने यात्रुहरूलाई गन्तव्य पुग्न निकै समस्या भएको छ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले निरन्तर वर्षा र कमला नदीमा पानीको बहाव बढेकाले अस्थायी संरचना क्षतिग्रस्त भएको बताए। पश्चिमतर्फ हाल पानीको बहाव उच्च रहेकाले यथार्थ अवस्था बुझ्न कठिन छ। पानीको सतह घटेपछि नगरपालिकाको जेसीबी प्रयोग गरी पुनः बाँध निर्माण गरिने उनले जान्कारी दिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी वासुदेव पाठकले सुरक्षाका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको जानकारी दिए। उनका अनुसार कमला नदीमा पानीको बहाव बढ्दो रहेकाले जोखिमपूर्ण अवस्था सिर्जना भएको छ।
हुलाकी राजमार्ग प्रयोग गरी कमला हुँदै धनुषा जाने नागरिकलाई वैकल्पिक बाटो प्रयोग गर्न घटनास्थलमा चार जना नेपाल प्रहरी खटाएको उनले बताए।
हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला नदी पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।
२०६८ जेठमा पप्पु–लुम्बिनी जेभीसँग २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त पुल २०७१ मंसिरमै सम्पन्न हुनुपर्ने थियो । तर हालसम्म निर्माण पूरा नभएर सात पटक म्याद थप भइसकेको छ।
निर्माणकै क्रममा २०७८ असार १७ मा आएको बाढीले पुलका दुई वटा जग भासिँदा चार वटा स्ल्याबमा क्षति पुगेको थियो। तीमध्ये सिरहातर्फका दुई स्ल्याब हटाइसकिएको छ भने धनुषातर्फका दुई स्ल्याब सुरक्षित रहेको प्राविधिक अध्ययनले देखाएको छ।





















