सिरहा, १२ बैशाख। ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको विषयमा आलोचना बढेपछि माफि मागेका छन्। चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तधहादुर मगरलाई दुर्व्यवहार गरेको विषयमा सर्वत्र आलोचना भएपछि सांसद पोखरेलले विज्ञप्ती निकालेर माफी मागेका हुन्।
पोखरेलले शनिवार विज्ञप्ति जारी गर्दै संघीय संसदको बैठक स्थगित भएको समयमा आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग प्रत्यक्ष भेटघाट र समस्या बुझ्ने क्रममा वैशाख ९ गते खिजिदेम्बा गाउँपालिका २ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा पुग्दा भएको विवादका विषयमा उनले स्पष्टीकरणसहित क्षमायाचना गरेका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओले घटनाको पूर्ण सन्दर्भ नबुझाई केही अंश मात्र काटेर प्रस्तुत गरेको उल्लेख गरिएको उनको दाबी छ। उनले तथ्य र सन्दर्भ अपूर्ण रूपमा प्रस्तुत हुँदा विवाद सिर्जना भएकोमा खेदसमेत प्रकट गरेका छन्। यद्यपि, सार्वजनिक जीवनमा रहँदा आफ्नो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्ने कुरा स्वीकार गर्दै उनले परिस्थितिजन्य दबाबका बाबजुद आफूले थप धैर्य र मर्यादा राख्नुपर्ने बताएका छन्।
‘यस घटनाका कारण पार्टी, शुभेच्छुक, समर्थक, विद्यालय परिवार, स्थानीय समुदाय तथा आम जनसमुदायलाई ठेस पुगेकोमा म विनम्रतापूर्वक क्षमा चाहन्छु,’ पोखरेलले भनेका छन्।






















