सुरेश राय
सिरहा, ८ बैशाख। पछिल्ला दिनहरुमा सिरहा कारागार विवादको केन्द्र बनेको छ। कारागारको आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिन खोजेको आरोपमा मंगलबार बिहान २३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार दुई दिनअघि केही कैदीले चौकीदार प्रेम चौधरीलाई जबरजस्ती बाहिर निकाल्दै कारागारको आन्तरिक व्यवस्थापन कब्जा गर्ने प्रयास गरेका थिए। उक्त घटनापछि थप झडप र असुरक्षाको अवस्था सिर्जना हुन सक्ने अनुमान गर्दै २३ जना कैदीहरुलाई नियन्त्रणमा लिई हाल प्रहरी हिरासतमा राखिएको उनले जानकारी दिए।
उनका अनुसार नियन्त्रणमा लिइएका कैदीमाथि आवश्यक कानुनी प्रक्रिया सम्बन्धित निकायको निर्देशनअनुसार अघि बढाइनेछ। ‘हामीले विभागसँग अनुमति मागेका छौँ। अनुमति आएपछि कुन कैदीलाई कहाँ पठाउने भन्ने निर्णय गरेर सारिने छ,’ उनले भने।
सिरहा कारागारमा यसअघि पनि पटक–पटक गुटबन्दी, कुटपिट र आन्तरिक झडपका घटना हुँदै आएका छन्। वस्थापनमा कमजोरी र सुरक्षाकर्मीको मिलेमतोका आरोपले कारागार बारम्बार तनावग्रस्त बन्ने गरेको छ।
यसअघि माघ २६ गते गरिएको संयुक्त सुरक्षा अपरेशनका क्रममा कारागारभित्रबाट कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको थियो। उक्त हतियार आन्तरिक प्रभाव जमाएका कैदी इन्द्रजित यादवसँग सम्बन्धित रहेको प्रहरीले जनाएको थियो। सोही अपरेशनमा यादवसहित १३ जनालाई नियन्त्रणमा लिई अन्य कारागारमा सारिएको थियो।
इन्द्रजित यादव पक्राउ परेपछि कैदीबन्दीले दुई दिनसम्म विरोध प्रदर्शनसमेत गरेका थिए। पछिल्ला घटनाक्रमहरूले सिरहा कारागारको सुरक्षा र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाइरहेका छन्।





















