सुधा देव
सप्तरी, ७ बैशाख। राजविराज नगरपालिका ६ का मुसहर बालबालिका हिलोमा ईंटा खोज्दै छन्। राजविराज नगरपालिका ७ को मुख्य बजार क्षेत्रको सडक विस्तारका क्रममा भत्काइएका घर तथा खनेका नालाबाट निस्किएका ईंटामा उनीहरू आफ्नो ‘महल’ बनाउने सपना देख्दै संकलनमा जुटिरहेका हुन्।

पाँचदेखि १२ वर्ष उमेर समूहका ती बालबालिका बिहानदेखि बेलुकीसम्म सडकमा ईंटा संकलन गर्ने र दिनभर संकलन गरेको ईंटा बेलुकी सिटी सफारीमार्फत घर लैजाने काम गर्दै आएका छन्।
१५ दिनदेखि उनीहरूको दैनिकी ईंटा संकलनमै बितिरहेको स्थानीय रमिता शर्माले बताए। उनका अनुसार सडक विस्तार र नाला खन्ने क्रममा निस्किएका ईंटा लिन एकैपटक एक दर्जनभन्दा बढी बालबालिका दौडधुप गर्दै प्रतिस्पर्धा गर्ने गरेका छन्।
दिपक सदाले भने, ‘बुबा मजदुरी गर्नुहुन्छ। महँगीका कारण कमाइले दुई छाक खान पनि गाह्रो हुन्छ। बस्ने ठाउँ पनि झुपडी मात्र हो। ईंटाको घर बनाउने सपना बोकेर हामी ईंटा संकलन गर्दैछौँ।’
उनका अनुसार विद्यालय बिदा भएकाले आफू ७ वर्षीय भाइ ओम सदासहित ईंटा संकलनमा नियमित रूपमा लागेका छन्। संकलित ईंटाले घरको पर्खाल उठाउन सकिने आशा उनीहरूको छ।
सोही बस्तीका ११ वर्षीय सत्यनारायण सदाले पनि फोहोर र हिलोबाट निस्किएका ईंटा संकलन गर्दै आएको बताए। उनले भने, ‘फुसको घर कहिले हावाहुरीले उडाउला भन्ने डर छ। ईंटाको पर्खाल उठाएर टिनले छाउन सके पक्की घरमा बस्न पाइन्थ्यो भन्ने आशा छ, त्यसैले यो काम गर्दै आएका हौँ।’
उनीहरू मात्र नभई सो टोलका अधिकांश बालबालिका अहिले सडक विस्तार भएको क्षेत्रमा ईंटा संकलनमै व्यस्त छन्। बस्ती बजार क्षेत्रमा परेकाले आर्थिक र शैक्षिक अवस्था अत्यन्त कमजोर रहेको र घर निर्माणको आशामा बालबालिका दिनहुँ ईंटा खोज्न बाध्य भएको स्थानीय ओमप्रकाश साहले बताए।






















