सिरहा, ५ बैशाख। सिरहामा गर्मी र सुक्खा मौसमसँगै सिरहामा आगलागीका घटनामा वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको गत चैतको विवरणअनुसार एक महिनामा जिल्लाका विभिन्न १९ स्थानमा विद्युत् सर्टलगायत कारणले आगलागीका घटना भएका छन्। प्रहरीको तथ्याङ्कअनुसार चैतमा तीन वटा विद्युत् सर्टसहित १९ वटा आगलागीका घटना भएका हुन्।

यी घटनाहरूबाट करिब  ३३ लाख २७ हजार बराबरको आर्थिक क्षति भएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रण र उद्धारका लागि प्रहरीले १८२ जना जनशक्ति परिचालन गरेको  जानकारी दिए।

आगलागीबाहेक जिल्लामा अन्य प्राकृतिक विपद्का घटनाबाट पनि मानवीय क्षति भएको छ। पानीमा डुबेर एक र करेन्ट लागेर्र एक–एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी  रमेशबहादुर पालले जानकारी दिए। उनका अनुसार जङ्गली जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् भने हावाहुरीका कारण एक ठाउँमा भौतिक क्षति पुगेको छ।

यसैबीच, विपद्सँगै जोडिएको वातावरणीय जोखिम र प्राकृतिक सम्पदाको अवैध दोहन नियन्त्रणतर्फ पनि प्रहरीले सक्रियता देखाएको छ। चैत महिनामा अवैध रूपमा नदीजन्य वा वन पैदावार उत्खननमा संलग्न पाँच वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जसबाट रु एक लाख जरिवाना सङ्कलन गरी राजस्व कार्यालयमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए। विपद्को समयमा तत्काल प्रतिकार्यका लागि जिल्लाभरका विभिन्न युनिटबाट प्रहरी जनशक्ति परिचालन गरिएको उनले बताए।

प्रहरीले आगलागी नियन्त्रणका लागि स्थानीय तहका दमकल र स्थानीय बासिन्दासँगको समन्वयमा कार्य गर्दै आएको छ । सुक्खा मौसम अझै बाँकी रहेकाले आगलागीका घटना बढ्न सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन र आगोको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।