मणिलाल विश्वकर्मा
लहान, २ बैशाख। वैवाहिक जीवनको लामो समयसम्म पनि सन्तान पाउन नसकेका सयौँ दम्पतीहरूले सन्तान पाउने आशामा बुधबार दिउँसो सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ स्थित पतारी पोखरीमा डुबुल्की लगाएका छन्।
हरेक वर्ष २ वैशाखमा निःसन्तान दम्पतीसहित आफन्तहरू सहभागी हुने पतारी मेलाको पोखरीमा करिब डेढ सय दम्पतीले डुबुल्की लगाएका लक्ष्मीपुर पतारी ३ का वडाध्यक्ष दिलीपकुमार साफीले जानकारी दिए। पूर्व–पश्चिम सडकको धनगढी बजारबाट करिब १० किलोमिटर दक्षिणमा पर्ने पतारी बजारस्थित पोखरीमा सन्तान प्राप्तिको भाकलसहित आउने निःसन्तान दम्पती, तिनका आफन्त र मेला हेर्न आएकाहरूको बिहानदेखि नै विशेष भिड रह्यो।
नयाँ वर्षको भोलिपल्ट लाग्ने मेलामा छिमेकी मुलुक भारतको उत्तरी बिहारका पटना, मधुवनी, दरभंगा, जयनगरसहित नेपालका विशेष गरी मधेशअन्तर्गतका विभिन्न जिल्लाहरूबाट सन्तान प्राप्तिको भाकलसहित निःसन्तान दम्पतीहरू २४ घण्टा व्रत बसेर पोखरीमा डुबुल्की लगाउने गरेका उनले बताए।
करिब १० बिघा क्षेत्रफलमा फैलिएको पोखरीको दक्षिणी किनारमा रहेको मन्दिर (गहवर)को पूर्वी ढोकामा १ वैशाखको साँझदेखि निरन्तर १८ घण्टासम्म व्रत बसेर भोलिपल्ट मध्याह्न गहवरभित्र रहने विशेष पूजापछि फूल अक्षता लिई गहवरको उत्तरी गेटबाट सिधै पोखरीमा हाम फालेर हेलिँदै पोखरी पार गर्नुपर्ने मान्यता रहेको स्थानीय बासिन्दा बताउँछन्।
गहवरका पूजारी प्रमोदसिंह दनुवारका अनुसार पोखरीमा डुबुल्की लगाउँदा पानीमुनि कुनै पनि जीव भेटिए। ती महिलाको सन्तान हुने जनविश्वास छ। ‘पोखरीमा डुबुल्की मार्दा पानीमा भेटिएको जीव मुठ्ठीमै राखेर कोहीसँग नबोली पोखरीबाट निस्किए लगत्तै गाउँको सीमा पार गर्नुपर्छ,’ उनले भने, ‘त्यसपछि महिलाको सहयोगका लागि पछिपछि आउने आफन्तले गाउँको सीमा कटाएर कपडा फेरिदिन्छन्।’ कपडा फेरेर घर पुगेपछि पोखरीमा भेटेको जीवको बुटी बनाएर व्रत बसेका महिलाले पाखुरा या घाँटीको मालामा झुन्ड्याउँदा सन्तान प्राप्त हुने जनविश्वास रहेको उनले बताए।
हरेक २ वैशाखमा पतारी पोखरीमा सन्तानको आशामा डुबुल्की लगाउन आएका र सन्तान पाइसकेका दम्पतीहरू आउने गरेको स्थानीय जनता नन्द ललिता माविका प्रधानाध्यापकसमेत रहेका गहवर पुजारीका खलक विनोद सिंहले बताए। उनका अनुसार सन्तान प्राप्त गरिसकेका दम्पतीहरू बोका, परेवा, लड्डु, पान सुपारी लिएर पतारी पोखरीमा पूजाका लागि आउने गर्छन्। लोकनायक सलहेशकै समयमा दनुवार जातिका राजा हरिसिंह देव बस्ने पतारी पोखरी क्षेत्र वि.सं. १३२५ तिरदेखि अस्तित्वमा रहेको जानकारी दिँदै पुजारी सिंहले वर्षौंदेखि पतारी पोखरीमा निःसन्तान दम्पतीहरुको मेला लाग्दै आएको उल्लेख गरे।






















