मणिलाल विश्वकर्मा
लहान, १ बैशाख। सिराहाको लहान नगरपालिका १२ र २२ स्थित सलहेश फूलबारीमा नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने विश्वास गरिएको माला आकारको सुनाखरी फूल हेर्नेको विशेष मेला लागेको छ।
नयाँ वर्षको पहिलो दिन १ वैशाख (मंगलबार) बिहानैदेखि फूलबारीको मध्यभागमा मालिनीको गहवर (मन्दिर) सँगै रहेको हारम प्रजातिको रुखमा एक दिन मात्र फुल्ने विश्वास गरिएको माला आकारमा देखिने सुनाखरी प्रजातिको फूल हेर्न हजारौँको भिड लागेको छ। झापा, सुनसरी, मोरङ, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सासहितका जिल्लाबाट आएका दर्शनार्थीहरूको फूल हेर्ने मेलामा भिड लागेको हो।
फूलबारीमा सुनाखरी फूल हेर्न र मालिनीको गहवर, सहलेशका भाइ बुधेश्वरको गहवरमा पूजाअर्चना गर्न छिमेकी मुलुक भारत बिहारको सहरसा, सुपौल, पूर्णिया, दरभंगा, पटनासम्मका दर्शनार्थीहरूसमेत आएका छन्। आफ्नो क्षेत्रमा लोकनायकको रूपमा पुजिने सलहेश र प्रेमिका मालिनीबिचको प्रेम प्रतीकको रूपमा लिइने सुनाखरी फूलको माला हेर्न सलहेश फूलबारीमा हरेक नयाँ वर्षको पहिलो दिन स्वदेश तथा छिमेकी मुलुक भारतबाट आउने हजारौँ दर्शनार्थीको भिड लाग्ने गर्दछ।
सलहेश र मालिनीको प्रेम प्रतीक ‘सुनाखरी फूल’
सलेहश गाथामा उल्लेख गरिएअनुसार फूलबारीधाम जिल्ला सदरमुकामसमेत रहेको सिराहा नगरपालिका ७ मा पर्ने महिसोथामा जन्मिएका तेह्रौँ शताब्दीका लोकनायक सलहेशको प्रणयस्थल थियो।
किंवदन्ती अनुसार महिसोथाबाट हात्ती चढेर सलहेश लहान गोविन्दपुरमा पर्ने माणिकदहमा स्नान गरी फूलबारीधाममा आएर फूल टिपी महिसोथामा पुगेर पूजाअर्चना गर्थे। लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबिच प्रगाढ प्रेमसम्बन्ध रहेको भए पनि प्रेम असफल भएपछि सलहेशको प्रतीक्षा गर्दै मालाको रूपमा मालिनी हरेक वर्ष १ वैशाखमा फुल्ने मान्यता छ।
तराईका दलित समुदायमा पर्ने पासवान जातिको इष्टदेव मानिने सलहेशलाई पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोगलगायतका रोगव्याधि नलाग्ने जनविश्वास छ। फूलबारीभित्र दुर्लभ जातिका जडीबुटीहरूसमेत भेटिने भएकाले नयाँ वर्षमा लाग्ने मेला लाग्नु एक दिन अगावैदेखि हजारौँको संख्यामा दर्शनार्थीहरू आउने गर्छन्।
लहानदेखि करिब चार किलाेमिटर पश्चिम दक्षिणमा रहेको फूलबारीमा रहेको हारमको रुखमा नयाँ वर्षको दिन मात्र फूल फुल्ने विश्वास गरिने भए पनि करिब एक हप्ता अघिदेखि नै फूल फुल्ने गर्दछ। फूलबारीमा मेला भर्न हजारौँको संख्यामा श्रद्धालुहरू आउने भएकाले भिड व्यवस्थापन र सुरक्षाका लागि स्थानीय प्रशासनसँग समन्वय गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सुरक्षाको प्रबन्ध गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ।






















