आशिष विश्वकर्मा
सिरहा, ३० चैत। सिरहाको कल्याणपुर नगरापलिकामा कर्मचारी, जनपतिनिधी र व्यवसायीको मिलेत्तोमा कामै नगरी भुक्तानी लिएको पाइएको छ। कल्याणपुर ११ स्थित श्री दुर्गा मन्दिरमा लाइट जडान कार्य सम्पन्न नगरी नै लहान ३ का अमित सप्लायर्सले करिव ८ लाख भुक्तानी लिएको पाएको हो।
नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ अन्तर्गत उक्त कार्यका लागि १० लाख रुपैयाँ विनियोजन गरेको थियो। सोही योजना अन्तर्गत लहान ३ का अमित सप्लायर्ससँग २०८२÷०६÷२९ गते सम्झौता गरिएको थियो।
सम्झौताअनुसार सप्लायर्सले लाइट जडानसँगै फ्लड लाइट, एलइडी बल्ब, प्रोजेक्टर बत्ती, नेटवर्किङ सामग्री लगायतका विद्युतीय सामग्री उपलब्ध तथा जडान गराउने जिम्मा लिएको थियो। तर मन्दिरमा कुनै कामै नगरी ७ लाख ९१ हजार ३७४ रुपैयाँ भुक्तानी दिएको छ।
काम नै नगरी जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुक्तानी लिनु दिनु सिधै भ्रष्टाचार भएको भन्दै स्थानीयले कार्वाहीको माँग गरेका छन्। स्थानीय विजय कुमार साहले, ‘यसरी काम नगरी रकम भुक्तानी दिनु दिनु नीतिगत भ्रष्टाचार हो, यसकार्यमा संलग्न दोषीहरुमाथि कारबाही गरिनु पर्छ।’
काम नै नसकी हतार–हतार भुक्तानी दिनुले पनि कमिशनको खेल भएको भन्ने प्रष्ट भएको उनको भनाई छ।
अर्का स्थानीय सितल प्रसाद साहले सूचना अधिकार प्रयोग गरी कागजात माँग गरेपछि आफूहरुले कामै नगरी भुक्तानी दिएको जानकारी पाएको बताए। उनले भने, ‘हामीले कामै नगरी भुक्तानी भएको भन्ने सूचना पाएपछि पुष्टिका लागि सूचना माँग गर्यौं, त्यसपछि हामीले काम नै नगरी भुक्तानी भएको भन्ने थाहापायौं। यो सरासर गलत हो। यस कार्यमा संलग्न सवैलाई कार्वाही हुनुपर्छ।’
त्यसैगरी, अर्का स्थानीय सतेन्द्र यादवले पनि मन्दिरमा कुनै काम नभएको अवस्थामा सबैको मिलेमतोमा भुक्तानी गरिएको आशंका व्यक्त गर्दै छानबिन र कारबाहीको माँग गरे।
यता, कल्याणपुर नगरपालिका ११ का अध्यक्ष प्रमेश्वर साहले नगर स्तरिय योजना भएको हुनाले वडाबाट कार्य सम्पन्नताको सिफारिस आवश्यकता नभएको कारण नलिएको हुनसक्ने बताए। नगरबाटै सवै कार्य भएको अध्यक्ष साहले बताए। यस विषयमा आफूलाई धेरै जानकारी नरहेकोसमेत सुनाए।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवलाई पटक–पटक फोन गर्दा वहाँको फोन उठेन्न।
कार्यवाहेक मेयर रेखा यादबलाई सम्पर्क गर्दा आफू एउटा छलफलमा रहेको हुनाले पछि फोन गर्छु भन्दै फोन काटे। पछि मेयर यादबलाई पटक–पटक फोन गर्दा वहाँले फोन काटी रहे, तर फोन उठाएन्न।
उक्त योजना तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवको कार्यकालमा स्वीकृत भई भुक्तानी भएको बुझिएको छ। हाल उनी सोनमाई गाउँपालिकामा कार्यरत रहेका छन्। तत्कालीन अधिकृत यादबले आफ्नै पालामा कोटेशेन मार्फत काम भएको बताए। उनले भने, ‘कोटेशन सम्झौतापछि काम गर्न ठेकेदार गएको हो, तर मन्दिरको निर्माण कार्य अधुरै रहेका कारण स्थानियले निर्माण कार्य सम्पन्न भएपछी लाइट जडान कार्य गर्न अनुरोध गरेपछी ठेकेदार फर्केको हो।’
काम सम्पन्न नगरी कसरी भुक्तानी दिनु भयो? भन्ने प्रश्नमा तत्कालीन अधिकृत यादबले आफुले समाग्री खरिद गरेर ल्याएको बिलको मात्र भुक्तानी दिएको भन्दै पन्छिए।
यहि प्रश्न काम सम्पन्न नगरी कसरी भुक्तानी दिनु भयो? भन्ने प्रश्न भौतिक पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर सुधिर कुमार यादवसँग गर्दा पहिला उनी अलमलिए। तत्कालै उनले ‘यो विषयमा म फाईल हेरेमात्र भन्न सक्छु। अहिले जानकारी भएन। १० मिनट फोन गर्नुस;’ भनेपनि उनी पछि सम्पर्कमा आउन चाहेनन्।
तर, पालिकाका जिन्सि शाखा प्रमुख पर्शुराम अधिकारीले भने हाकिमसाव सरुवाभएर जानेभएकाले हतारमा सवै भुक्तानी गरिएको भएपनि पछि काम नभएका बाँकी रकम फिर्ता आएको बताए।
सप्लायर्सका भने काम गरेको दावी
यता अमित सप्लायर्सका प्रतिनिधी हरेराम साहले भने आफूले जिम्मा लिएको सवै काम सम्पन्न गरीसकेको दावी गरे। मन्दिर समितिका अवरोधका कारण उनले आफूले ४–५ लाख रुपैयाँ घाटा व्यहोरेर काम सम्पन्न गरेको दावी गरे। उनले भने, ‘काम गर्न गएको बेला मन्दिर समितिले अवरोध गरेका कारण एक सातासम्म प्राविधिकलाई बसाएर राख्नु पर्यो। जसको कारण १० लाखको योजनामा मेरो १द्ध लाख रुपैयाँ खर्च भयो। मैले घाटा सहेरै मन्दिरको काम भएकाले सम्पन्न गरें। अन्यत्रको भए म छोडी दिन्थे।’
कर्मचारी, प्राविधिक, प्रमुख प्रशासकीइ अधिकृतको फरक फरक दावी र जनप्रतिनिधीको ‘चुप्पि’ (पछि कुरा गरौंला भन्ने अभिव्यक्ति)ले अनियमितताको संकेत गरेको छ।























