सिन्धुली, २८ चैत। सिन्धुली प्रहरीले कमलामाई नगरपालिका ९ भिमानबाट अवैध लागुपदार्थ व्राउनसुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।  प्रहरीले ४७ ग्राम व्राउनसुगरसहित शनिबार दिउँसो सिराहा बरियारपट्टी गाउँपालिका ४ का २४ वर्षीय उदित नारायण राय अमात, मोरङ बेलबारी नगरपालिका १० का ३७ वर्षीय पदम बहादुर योगी र झापा मेचीनगर नगरपालिका २ का २४ वर्षीय निकास आलेलाई पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबाससमेतबाट खटिएको प्रहरीले लाहानबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश ०१–००१ ख ०६२८ नम्बरको हायसमा सवार उदितलाई ५ सय ३० मिलिग्राम, इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्रदेश ०१–००२ ज ७५९९ नम्बरको ट्याक्सीमा सवार पदमलाई १२ ग्राम ६ सय मिलिग्राम र काँकडभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९६६० नम्बरको हायसमा सवार निकासलाई ३३ ग्राम ८ सय ७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको सिन्धुली प्रहरीले जनाएको छ। 

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।