सिरहा, २८ चैत। गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा ब्रदर्श हुड फुटबल क्लब, उदयपुर र सलहेश युवा क्लब, सिरहा भिड्ने भएको छ। आज शनिवार सम्पन्न दोस्रो सेमिफाइनलमा ब्रदर्श हुड क्लब, उदयपुर विजयी भएपछि सहलेश युवा क्लवसँग भिड्ने भएको हो। 

दोस्रो सेमिफाईनलमा ब्रदर्श हुड क्लब र चात्या सा फुटबल क्लब, झापाबीच भएको रोमाञ्चक प्रतिस्पर्धा निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट खेल टुंगिएको थियो। पेनाल्टी सुटआउटामा उदयपुरले जित हासिलगर्दै फाइनल यात्रा तय गरेको हो।

खेलमा चात्या साका तर्फबाट जर्सी नम्बर ८ का खेलाडी शिशिर लेखीले पहिलो हाफमा अग्रता दिलाएका थिए भने दोस्रो हाफमा अर्को गोल थप्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका थिए। यता, ब्रदर्श हुडका जर्सी नम्बर ४ का रिचर्ड इजेन्वाले पहिलो हाफमै एक गोल फर्काएका थिए भने दोस्रो हाफमा जर्सी नम्बर ९ का आकाश राईले बराबरी गोल गर्दै खेललाई पेनाल्टीतर्फ धकेले।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक सौरभ बराल ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई ‘म्यान अफ द म्याच’ बाट गोलबजार नगरपालिकाका लेखा अधिकृत रामसुफल साहले प्रदान गरेका थिए।

फाइनल खेल भोलि दिउँसो २ बजे गोलबजार नगरपालिका २, गुरुधामस्थित खेलग्राममा हुने नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष संजित लामाले जानकारी दिए।

विजेताले ४ लाख ४४ हजार ४४४ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी पाउनेछन्। साथै ‘म्यान अफ द म्याच’ र ‘उत्कृष्ट खेलाडी’ लगायतका विधामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा देशका विभिन्न स्थानबाट ८ वटा टीमले भाग लिएका थिए।