सप्तरी, २८ चैत। सप्तरीमा विद्युतीय करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएका छन्। जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ सखुवा टोल निवासी ६८ वर्षीय राजकुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो। श्रीमती ६० वर्षीया जिरावती महतो घाईते भएकी छिन्।

शुक्रबार आफ्नै घरअगाडि श्रीमतीसँग बसिरहेका बेला नजिकै रहेको विद्युत् पोलबाट २२० भोल्टको तार चुडिँदा दुवै जनालाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज लगिएकोमा राजकुमार महतोको उपचारका क्रममा ज्यान गएको चिकित्सकले जनाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए।

घटनामा घाइते भएकी जिरावती महतोको सोही अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।