गोलबजार, २७ चैत। सलहेश युवा क्लब सिरहा नवौँ गोलबजार मेयर गोल्डकपको फाइनल प्रवेश गरेको छ। राष्ट्रिय जागृति क्लब इटहरी र सलहेश युवा क्लवविच भएको सेमिफाईलमा १ को विरुद्ध २ गोलगर्दै सलहेस फाईनल प्रवेश गरेको हो।
खेलको पहिलो हाफ सुरु भएको १५ मिनेट नबित्दै सलहेशका जर्सी नम्बर १४ का अनिल पाचे मगरले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा राष्ट्रिय जागृति क्लबका जर्सी नम्बर ११ का बाबुराम थारुले एक गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए। तर खेल सकिन करिब १० मिनेट बाँकी रहँदा सलहेशका तर्फबाट जर्सी नम्बर १२ का फिलिप युजिनले दोस्रो गोल गेरका थिए। सोही गोल निर्णायक बन्दै टोलीलाई जित दिलाए।
उत्कृष्ट प्रदर्शन गरेका फिलिप युजिन ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई गोलबजार नगरपालिका १० का वडा अध्यक्ष उपेन्द्र मुखियाले पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगिताको भोली हुने दोस्रो सेमिफाइनल खेल चात्या सा फुटबल क्लब दमक झापा र ब्रदर्श हुड क्लब उदयपुरबीच हुने आयोजकले जनाएको छ। फाइनल खेल पर्सि दिउँसो २ बजे हुने तालिका रहेको छ।
गोलबजार नगरपालिका २, गुरुधामस्थित खेलग्राममा सञ्चालन भइरहेको प्रतियोगितामा देशका विभिन्न स्थानबाट ८ टोलीको सहभागिता रहेको थियो।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी पाउनेछन्। साथै ‘म्यान अफ द म्याच’ र ‘उत्कृष्ट खेलाडी’ लगायतका विधामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।






















