आशिष विश्वकर्मा

सिरहा, २७ चैत। सिरहाको नरहा गाउँपालिकामा रहेको एकमात्र प्रसुति गृह (वर्थिङ सेन्टर) एक जना अनमीको भरमा सञ्चालन भईरहेको छ। नरहा गाउँपालिका ४ वर्छबामा रहेको प्रसुति गृह जस्तो सम्वेदनशिल संस्था कर्मचारी अभाव देखाउँदै एकजनाको भरमा सञ्चालन भएको हो। 

सामान्यतया आधारभुत प्रसुति सेवा दिने संस्थामा २ जना स्टाफ नर्स, एक जना स्वास्थ्य सहायक (एचए), एक जना कार्यालय सहयोगीसहित कम्तिमा ४ जना स्वास्थ्य कर्मचारी आवयक भएपनि अहिले सीअनमी छौंठौ टीकादेवी ढुङ्गेलको भरमा प्रसुति गृह संचालन भईरहेको छ। 

भव्य पूर्वाधार भएको यस वर्थिङ सेन्टरमा दक्ष जनशक्तिको अभावका कारण न्यूनमात्रामा सेवाग्राही आउने गरेका छन्। दक्ष जनशक्ति नभएकै कारण चालु आर्थिक वर्षको १० महिनामा १९ जनालेमात्र यहाँ प्रसुति गएका छन्। जसमध्ये ११ जना यहाँभन्दा अन्य स्वास्थ्य संस्थामा जान नसक्ने सदाय समुदायबाट सुत्केरी गराएका छन्।  

वर्छवा स्वास्थ्य चौकीका प्रमुख महेश कुमरा रजकले दिउँसोको अवस्थामा हामी पनि हुने भएकाले केही सजिलो भएपनि प्रसुति गराउन राती आउने समस्या हुने बताए। उनले भने, ‘दिउँसो कार्यालयलय सञ्चालनको बेलामा अन्य कर्मचारी पनि हुने भएकोले केही सजिलो भएपनि राति सुत्केरी गराउन आउँदा समस्या हुने गरेको छ।’

उनले सुत्केरी गराउन एक जनाबाट मात्र सम्भव नै हुँदैन, त्यसमा पनि धेरैजसो सुत्केरी रातको समयमा नै हुने बताए। कहिले काही उहाँ विदामा जानुभयो भने त संस्था नै खाली हुने रजकले बताए।

उनले हामीले आवश्यक कर्मचारी र स्वास्थयकर्मी माँग गरेपनि पालिकाले अझै नपठाएको बताए। 

अनमी ढुङ्गेलले पनि दिनको समयमा सहज भएपनि राती अलि समस्या हुने गरेको बताए। तरपनि आफूले सकेको सेवा दिईरहेको बताए। उनले भने, ‘दिउँदा त्यति समस्या हुँदैन, रातको समयमा सुत्केरी गराउन आउँदा मैले सकेको गरिरहेको छु। कोही नभएपछि सकेको गर्नै पर्योनी।’

प्रमुख प्रशासकीय अधिकृत आदित्य कुमार कर्णले स्वास्थ्य तर्फका कर्मचारी अभाव भएकै कारण एक जनाको भरमा प्रसुति गृह सञ्चालन भएको सुनाए। उनले भने, ‘हामीसँग स्वास्थ्यका कर्मचारी कम भएकैले त्यहाँ थप जनशक्ति पठाउन नसकिएको हो। हामी व्यवस्था मिलाउँदै छौं। चाँडै त्यहाँ थप जनशक्ति पठाउँछौं।’ 

अधिकृत कर्णले स्वास्थ्य तर्फका कर्मचारी अभाव रहेको बताएपनि स्वास्थ्यका कर्मचारी अन्य कार्यमा खटाइएको छ।  सिअहेव अरुण कुमार सिंहले जिन्सि शाखा प्रमुखको जिम्मेवारी पाएका छन्। अर्का स्वास्थ्यका कर्मचारी बैजनाथ साहलाई ५ नम्वरको वडा सचिव बनाएको छ। थप तीन जना स्वास्थ्यका कर्मचारीलाई पहुँचको भरमा स्वास्थ्य शाखामा जिम्मेवार विहिन बनाएर राखेको एक कर्मचारीले बताए। उनले भने, ‘उहाँहरुको त्यहाँ न कुनै काम छ, न जिम्मेवारी, पहुँचको भरमा त्यहाँ बसाएर तलव खुवाई रहेका छन्।’

mount 2082 1