सिरहा, २६ चैत। सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको चौथो दिनको खेलमा ब्रदर्श हुड क्लब, उदयपुर विजयी भएका छन्। गोलबजार युनाइटेड क्लब, सिरहा र ब्रदर्श हुड क्लब, उदयपुरबीच भएको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा २–२ गोलको बराबरिमा टुङ्गिएपछि भएको पेनाल्टी सुटआउटमार्फत उदयपुर (गाइघाट)ले जित हात पारेको हो।

खेलभर उत्कृष्ट प्रदर्शन गरेका उदयपुरका गोलरक्षक सौरभ बराल ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई उक्त पुरस्कार गोलबजार नगरपालिका ३ का वडा अध्यक्ष धनप्रसाद लामाले प्रदान गरेका थिए।
प्रतियोगिताअन्तर्गत भोलि पहिलो सेमिफाइनल खेल सलहेश युवा क्लब, सिरहा र राष्ट्रिय जागृत क्लब, इटहरीबीच हुनेछ। त्यसैगरी शनिवार हुने दोस्रो सेमिफाइनल खेल ब्रदर्श हुड क्लब, उदयपुर र चात्या सा फुटबल क्लब, झापाबीच हुने आयोजकले जनाएको छ।
गोलबजार नगरपालिका २, गुरुधामस्थित खेलग्राममा सञ्चालन भइरहेको प्रतियोगितामा देशका विभिन्न स्थानबाट ८ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २२२ नगदसहित ट्रफी हात पार्नेछ। साथै ‘म्यान अफ द म्याच’, ‘उत्कृष्ट खेलाडी’ लगायत विभिन्न विधामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। आजको खेल अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो, जसले दर्शकहरूलाई अन्तिमसम्म बाँधेर राखेको थियो।























