सुभाष कर्ण

जनकपुरधाम, २५ चैत। महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका मान महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ परेका छन्।

बुधबार प्रहरीले बैंकिङ कसूरमा महन्थ वैष्णवलाई पक्राउ गरेको हो। धनुषाका दीपेन्द्र ठाकुरले दिएको जाहेरीका आधारमा महन्थ वैष्णवलाई अनुसन्धान प्रक्रिया अघि बढाउन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उनीमाथि करिब एक करोड ३० लाख रुपैयाँ बराबरको आर्थिक अनियमितता तथा बैंकिङ कसुरमा संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ। बैंकिङ कसुर मुद्दामा फरार रहेका महन्थ वैष्णवलाई बुधवार प्रहरी टोलीले मटिहानी नगरपालिका–७ स्थित उनको निवासबाट नियन्त्रणमा लिएको हो। 

थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन वैष्णवलाई जिल्ला प्रहरी कार्यालय, धनुषा पठाइएको महोत्तरी प्रहरीले जनाएको छ। वैष्णवविरुद्ध वित्तीय कारोबारमा अनियमितता, विश्वासघात तथा बैंकिङ प्रणालीको दुरुपयोगसम्बन्धी विषयमा धनुषामा अनुसन्धान भइरहेको छ।

मुद्दाको प्रकृति गम्भीर रहेकाले आवश्यक प्रमाण संकलन, बयान तथा वित्तीय अभिलेख परीक्षणको काम अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ। यसअघि पनि महन्थ वैष्णव आर्थिक अनियमितता आरोपमा पक्राउ परेर सजाय भोगिसकेका छन्। रुपन्देहीस्थित मेगा बैंक शाखाबाट ७० लाख कीर्ते गरी झिकेको आरोप छ। 

महन्थ वैष्णवको नाममा रुपन्देहीस्थित मेगा बैंकको खातामा रहेको ७० लाख मौज्दात भएको खाता सरकारले रोक्का राखेको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरी खाताबाट रकम झिकेको पनि आरोप लागेको थियो। 

त्यस्तै, रुपन्देहीमा रहेको मटिहानी स्थानको रामजानकी कुट्टीको जग्गा बिक्री गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका अन्य निकायमा उजुरी परेको छ।