सिरहा, २५ चैत। सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको आज भएको तेस्रो दिनको खेलमा चात्या सा फुटबल क्लब दमक झापा १–५ को फराकिलो गोलान्तरले विजयी भएको छ। ललिगुराँस स्पोर्टिङ क्लवलाई विराटनगरमाथि १ को विरुद्ध ५ गोल गर्दै शानदार विजयी हात पारेको हो।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको चात्या साले पहिलो हाफमै ४ गोल गर्दै खेल आफ्नो पक्षमा पारेका थिए। दोस्रो हाफमा थप १ गोल गर्दै झापाले कुल ५ गोल गरेको हो। जवाफमा विराटनगरले खेलको अन्तिम समयमा १ गोल फर्काएका थिए।
चात्यसाका लागि जर्सी नम्बर ६ का शिशिर लेखीले पहिलो गोल गरेका थिए। त्यसपछि जर्सी नम्बर २१ का मञ्जेश ढकालले दोस्रो गोल गरे। जर्सी नम्बर १० का रिचर्डले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरे भने जर्सी नम्बर ८ का विशाल घलानले अर्को १ गोल गर्दै टोलीलाई अग्रता दिए। विराटनगरका लागि जर्सी नम्बर ११ का चिरन राना मगरले १ गोल गरे।

उत्कृष्ट प्रदर्शन गरेका झापाका जर्सी नम्बर ८ का विशाल घलान ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई उक्त पुरस्कार गोलबजार नगरपालिका ६ का अध्यक्ष तथा नगरप्रवक्ता संजित लामाले प्रदान गरेका थिए।
आयोजकका अनुसार प्रतियोगिताअन्तर्गत भोलिको खेल उदयपुरको कटारी र गोलबजार युनाइटेड क्लब सिरहाबीच दिउँसो २ बजे हुने छ।
गोलबजार नगरपालिका २ गुरुधामस्थित एकीकृत खेलग्राममा सञ्चालन भइरहेको प्रतियोगितामा देशका विभिन्न स्थानबाट ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद ४ लाख ४४ हजार ४४४ सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख २२ हजार २२२ सहित ट्रफी हात पार्नेछ।
साथै ‘म्यान अफ द म्याच’, ‘उत्कृष्ट खेलाडी’ लगायत विभिन्न विधामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।






















